अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसअनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली हुनुका साथै हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेकाे छ भने पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएकाे छ ।
त्यसैगरि कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही स्थानमा तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । त्यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
आज राति पनि देशभरकाे माैसम साधारणतया बदली हुनेछ भने हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेकाे छ । कोशी, बागमती, गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेकाे छ ।