चितवनबाट लाखाैंकाे पटाकासहित दुई जना भारतीय पक्राउ परेका छन् । प्रहरीले ६ लाख भन्दा बढि रकमकाे पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हाे ।
जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत ६ लाख २३ हजार ४६५ बराबरको पटाका विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका-६, हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थान घर भई भरतपुर महाननगरपालिका-३, बाह्रघरे बस्ने २९ वर्षीय कन्हैया कुमार रहेका जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार उनिहरूको साथबाट ८० हजार ३७२ वटा पटाकासहित नगद १ लाख ७२ हजार ३०० समेत बरामद गरिएको बताइएकाे छ । उनले पटाकाजस्तो विस्फोटक पदार्थको कारोबार भइरहेको जानकारी भए नजिकको प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेका छन् ।
पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थ कसुरअनुसार ओसारपसार, सञ्चय गरेर राखेको लगायतका कसुरमा म्याद थप गरी कारबाही गरिने प्रहरी उपरीक्षक पौडेलले बताए ।