काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकामा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । पालिकाको आयोजनामा स्थानीय तहस्तरीय नवौँ राष्ट्रपति रनिङ शिल्ड कप तथा पाँचौँ मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । वडा नं. ५ स्थित जागृति माध्यमिक विद्यालयमा आज पूर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले ती प्रतियोगिताको उद्घाटन गरे ।

गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष दिननाथ गौतम, शिक्षा शाखा प्रमुख महानदास लामा, विभिन्न वडाका वडाध्यक्ष, शिक्षक, विद्यार्थी, अभिभावक तथा खेलकुद क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले राष्ट्रपति रनिङ शिल्डको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, शिक्षकहरुबीच मैत्रीपूर्ण भलिबल प्रतियोगितासमेत सञ्चालन हुनेछ । विद्यार्थीहरूमा रहेको खेल प्रतिभाको पहिचान, क्षमता विकास तथा खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पालिकाले जनाएको छ । यस्ता प्रतियोगिताले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रतिष्ठित राष्ट्रपति रनिङ शिल्ड आफ्नो विद्यालयको नाममा पार्ने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रिएका विद्यालय तथा खेलाडीमा उत्साह देखिएको छ ।
