सुख्खा पहिरो खसेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । पृथ्वीराजमार्गकाे घोप्टेभिरमा खसेकाे पहिराे पन्छाएसँगै अवरुद्ध राजमार्गमा सवारी सञ्चालनमा आएको हाे ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४, स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर दिउँसो २ बजेपछि यातायात दुईतर्फी नै सञ्चालनमा आएको बताइएकाे छ । नागढुंगा-मुग्लिन सडक योजनाको यस खण्डमा विगत केहीदिनयता लगातार सुख्खा पहिरो खसिरहेकोमा आइतबार रातिदेखि पहिरो खस्नेक्रम बढेको थियो।
हिजाे सोमबार बिहान पनि दिनभरजसो राजमार्ग भएर यात्रा गरेका यात्रुले पहिरोका कारण सास्ती भोग्नु परेको थियो भने आज मंगलबार पनि यात्रुहरूले उस्तै सास्ती भोगेका थिए । अहिले सडक सञ्चालनमा आए पनि सवारी चापका कारण राजमार्गमा लामो जाम लागेको छ ।