Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

- shuvadmin / बुधबार, पुष १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

दाङ, माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा चहलपहल सुरु भएको छ । थारु जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो ।

माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि बस्तीका स्थानीयको व्यस्तता बढेको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् ।

यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका–७ सौडियारका विपना चौधरीले बताए ।

उनका अनुसार अहिले थारु बस्तीमा नाचगान र खानपिनको तयारी भइरहेको छ । “माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याउने काम भइसक्यो ।

पातको दुनाटपरी गास्ने काम गरिरहेका छौँ । ढिक्री, रोटी, जाँड पकाउन धान, चामल कुटाउनेरपिसाउने काम सुरु भएको छ ।

खानाका परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गर्नुपर्दछ”, विपनाले भने, “ढिक्री, रोटी पकाउने, अनदीको विशेष झोल (जाँड) र भातलगायत विशेष मिठामिठा परिकारको तयारीमा जुटेका छौँ ।”

पुस महिनामा तयारी गरेर माघे सङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने प्रचलन रहेको उनले जानकारी दिए ।

थारु समुदायले माघमा आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेष रूपमा लिइँदै आइएको घोराही–६ का मदन चौधरीले बताए ।

वर्षभरि गरेका कामको समीक्षा गर्ने र आगामी कामको योजना बनाउने पर्वका रूपमा माघीलाई लिने उनले जानकारी दिए ।

मदनले वर्षभरिको योजना माघमा बनाइने भएकाले पनि थारु समुदायका लागि यो पर्व महत्वपूर्ण रहेको बताए ।

थारु समुदायमा पुरुषहरू घर बाहिरको तयारीमा लागेका भन्दै महिलाहरू खानपिनको सामग्री जुटाउन लागेका छन् ।

दाउर, पात, चामल, पिठो, दुनाटपरीजस्ता सामग्री महिलाले तयारी गरिरहेका उनले उल्लेख गरे । थारु समुदायका पुरुषहरूले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्ने गर्दछन् ।

गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी वा खोलामा नुहाउने गर्दछन् ।

नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगभेट गरी आर्शिवाद लिएर घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ ।

खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइने गरिन्छ ।

“छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली) का रूपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन छ”, महतवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले भने ।

माघीको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर, सुँगुर (थारु भाषामा जिता मार्ना) मारेर बराबरी बाँड्ने चलन छ ।

घोङ्गी, गँगटा र माछाको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीका अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको हुने घोराही–६ का रामचरण चौधरीले बताए ।

“थारु समुदायमा माघ महिनालाई नयाँ वर्षका रूपमा लिने गरिन्छ, पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ, माघीमा परिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीसहित अन्य व्यवहारको नवीकरण गरिन्छ”, रामचरणले भने ।

माघ नजिकिएसँगै नाचगान र खानपीनको तयारी भइरहेको छ ।

माघ महोत्सवको तयारी

थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीका अवसरमा यही पुस २० गते घोराही उपमहानगरपालिका–६ र १७ को आयोजनामा एकदिने माघ महोत्सव हुने भएको छ ।

थारु भाषा, साहित्य तथा लोक कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा गत वर्षदेखि महोत्सव आयोजना गरिँदै आइएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं घोराही–१७ का अध्यक्ष रामलौटन चौधरीले जानकारी दिए ।

महोत्सवको थप तयारी तथा व्यवस्थापनका लागि समाजसेवी तथा थारु अगुवा घोराही–१७ ओखरा निवासी मोहनलाल चौधरीको संयोजकत्वमा ३५ सदस्यीय उपसमिति, वीरेन्द्र चौधरीको संयोजकत्वमा २१ सदस्यीय मञ्च व्यवस्थापन समिति, गोपी चौधरीको संयोजकत्वमा ३५ सदस्यीय स्वयंसेवक उपसमिति र अतिथि सत्कारका लागि ओखरा टोल विकास संस्थालाई जिम्मेवारी दिने निर्णय भएको महोत्सव मूल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिएका छन् ।

थारु समुदायको मौलिक कला, संस्कृति विकास गर्नमा थप सहयोग पुग्ने उद्देश्यले माघ महोत्सवको आयोजना हुन लागेको थारु कल्याण कारिणीसभा दाङका अध्यक्ष अशोक चौधरीले बताएका छन् ।

थारु समुदायको संस्कार र संस्कृति बोकेको पर्वका अवसरमा यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले माघ महोत्सव गर्न लागिएको उनले उल्लेख गरे ।

महोत्सवमा थारु परिकार, थारु समुदायको हस्तकला, थारु संस्कृति झल्कने भाषा, वेशभूषालगायत सामग्री प्रदर्शनीमा राखिने थारु कल्याणकारी सभाका सहसचिव श्रीप्रसाद चौधरीले जानकारी दिए ।

उनले थारु समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चिताका लागि महोत्सवमा थारु समुदायको सशक्त उपस्थिति रहने विश्वास व्यक्त गरेका छन् ।

रासस

Page Views: 100
संबन्धित शिर्षकहरु
कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama