Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पूर्वराजाको पक्षमा शक्ति प्रदर्शन, गौशालादेखि निर्मल निवाससम्मको भीडका कारण राजधानीको यातायात अस्तव्यस्त

- shuvadmin / सोमबार, फागुन २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पोखराबाट काठमाडौँ फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल र दुर्गा प्रसाईंको अभियानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक स्वागत गरेका छन् ।

स्वागतसँगै सडक प्रदर्शनमा उत्रिएका राजावादीले ‘राजा आऊ, देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, नेपाली जनता के भन्छ ? राजतन्त्र ले भन्छ  ?’ लगायतका उग्र नारा लगाएका थिए ।

राप्रपा, राप्रपा नेपाल, विश्व हिन्दू महासंघ र दुर्गा प्रसाईंको अभियानले पूर्वराजालाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा उपस्थित समूह अधिकांश उपत्यका र आसपासका जिल्लाबाट आएका थिए ।

उनीहरुले गणतन्त्रले अति गरेकाले पूर्वराजाको विकल्न अरु केही हुन नसक्ने दाबी गरेका थिए ।

काठमाडौं उपत्यका आसपासका जिल्लाबाट ल्याइएका कार्यकर्ताहरु राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर एवम् पम्प्लेटसहित उपस्थित भएका थिए ।

पूर्वराजालाई स्वागत गर्न तीनकुनेदेखि निर्मल निवाससम्म लाइनबद्ध राजावादीको भीड थियो । भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

करिब २ हजार ५ सयको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालित भएका थिए । गौशालादेखि निर्मल निवाससम्मको भीडका कारण राजधानीको यातायात अस्तव्यस्त थियो ।

ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न हम्मेहम्मे भएको थियो । ट्राफिक प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न आह्वान गरेपनि सवारीसाधन र मोटरसाइकलमा झण्डा राखेका चालकले बाटो छाड्न इन्कार गरेका थिए ।

अधिकांश सवारीसाधनले खोला किनाराको करिडोर प्रयोग गरेका कारण करिडोरमा पनि सवारी चाप बढेको थियो ।

प्रहरीले राजावादी र गणतन्त्रवादी पार्टीका कार्यकर्ताबीच झडप हुन सक्ने आँकलन गर्दै करिब १ हजार ५ सय प्रहरी थप परिचालन गरेको थियो ।

भीड अनियन्त्रित भएर अप्रिय घटना हुन सक्ने, निषेधित क्षेत्र तोड्न सक्ने र असहज परिस्थिति नबनोस् भनेर सुरक्षा सतर्कता बढाइएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए ।

‘विमानस्थलबाट निवास जाँदा राप्रपा, राप्रपा नेपाल, विश्व हिन्दू महासंघ, दुर्गा प्रसाईंको समूहलगायत विभिन्न समूहले प्रदर्शन गरेका थिए ।

प्रदर्शनीमा हिंसा भड्कन सक्ने त्रासले सुरक्षा सतर्कता बढाइएको थियो । सञ्चारकर्मी रमा सिंह, अभिनेत्री मनीषा कोइरालालगायतले समाजिक सञ्जालबाट पूर्वराजाको स्वागतार्थ विमानस्थल वा पायक पर्ने स्थानमा भेला हुन आह्वान गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न कलाकार सन्तोष पन्त, धार्मिक गुरुहरुलगायतका राजावादीहरु विमानस्थलको मूलद्वार अगाडि भेला भएका थिए ।

यसअघि राप्रपाले हिजो राजधानीमा शक्ति प्रदर्शनको कार्यक्रम राखेको भएता पनि पोखरा भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न शक्ति प्रदर्शन कार्यक्रम स्थगित गरिएको थियो ।

राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाजलगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिएका थिए ।

उनीहरुले पूर्वराजालाई विमानस्थलबाट निर्मल निवाससम्म पु¥याएका थिए ।

ज्ञानेन्द्रलाई स्वागत गर्न काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन, गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ, मकवानपुर, नुवाकोटलगायतबाट आएका राजावादीहरुलाई तीनकुने र चावहिलमा खटाइएको थियो ।

विमानस्थलको मूलद्वार अगाडि सांसद ज्ञानेन्द्र शाहीलगायतका समर्थक भेला भएका थिए ।

राप्रपाले विमानस्थलदेखि निर्मल निवाससम्म जुन स्थानमा भएपनि अनिवार्य उपस्थिति हुन कार्यकर्तालाई उर्दी जारी गर्दै जस्लाई जहाँ पायक पर्छ सोही थानबाट स्वागत गर्न आग्रह गरेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र आइतबार दिउँसो ३ बजेर ५२ मिनेटमा समिट एयरको विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लेलगत्तै केहीबेर अतिविशिष्ट कक्षमा बसेका
थिए ।

उनी पोखरा विमानस्थलबाट निजी सचिव र पीएसओ मात्र लिएर काठमाडौं ओलिएका थिए ।

करिब साढे ४ बजे पूर्वराजा ज्ञानेन्द्रले सवारीसाधनबाट उठेर जनतालाई नमस्कार गरी हात हल्लाउँदै निर्मल निवासतिर गइरहँदा स्वागतमा आएकाहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो’ छ लगायतका नाराबाजी गर्दै फूल चढाएका थिए ।

थेगिनसक्नुु भीडका कारण विमानस्थल पुगेका स्वेदशी र विदेशी पर्यटकले सास्ती खेप्नुपरेको थियो । पूर्वराजा ज्ञानेन्द्र साँझ करिब ६ बजे निर्मल निवास पुगेका थिए ।

उनको समर्थनमा हजारौं राजावादी र सर्वसाधारण सडकमा ओर्लेका थिए । पूर्वराजा ज्ञानेन्द्र तिलगंगा, चावहिल, महाराजगन्ज हुँदै निर्मल निवास पुगेलगत्तै राजावादीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

विमानस्थलबाट बाहिरिनेबित्तिकै राजावादीले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेपछि प्रहरी र राजावादीबीच धकेलाधकेलसमेत भएको थियो ।

यद्यपि प्रहरीले संयमता अपनाएको कारण अप्रिय घटना भने हुन पाएन् ।

राप्रपा र राप्रपा नेपालका अध्यक्षले गरे जुलुसका नेतृत्व

पूर्वराजालाई स्वागत गर्ने जुलुसको नेतृत्व राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरे ।

सायद बोलचाल नै बन्द अवस्थामा रहेको दुई नेताले छुट्टाछुट्टै नेतृत्व गरेका थिए । हुन त राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र साही, पशुपति शमशेर जबरालगायतले पनि जुलुसको नेतृत्व गरेका थिए ।

दुर्गा प्रसाईं समर्थक, शिवसेना नेपाल, विश्व हिन्दू महासंघलगायतका संघ संगठनले आआफ्नो क्षेत्रमा पूर्वराजाको स्वागतका लागि राजावादीहरुको भेला गराएका थिए ।

सामाजिक सञ्जालबाट पनि पूर्वराजालाई स्वागत गर्न आह्वान गरिएको थियो । सोहीअनुसार काठमाडौंमा पूर्वराजाको स्वागतमा राजावादीको उल्लेख्य उपस्थिति थियो ।

अति विशिष्ट कक्षमा गोप्य कुराकानी

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले विमानस्थलको अति विशिष्ट कक्षमा पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका थिए ।

ती दुई नेताले पूर्वराजालाई स्वागतको तयारी र जुलुसको बारेमा जानकारी गराएका थिए । यद्यपि भेटमा भएका कुराकानी भने गोप्य राखिएको छ ।

चुप लाग्ने कि अघि बढ्ने

देश दौडाहामा दुई महिना बिताएका पूर्वराजा ज्ञानेन्द्र फेरि राजनीतिमा सक्रिय हुने वा चुप लागेर बस्ने भन्नेबारेमा भने अझै प्रस्ट भइसकेको छैन् ।

राजावादीहरुका अनुसार अर्को कार्यक्रमपछि मात्र यस विषयमा जानकारी हुने सम्भावना छ । उच्च स्रोतका अनुसार केही दिन आराम गरेर फेरि देश दौडाहामा जाने तयारीमा रहेका पूर्वराजा ज्ञानेन्द्रले हिन्दूवादी दलको सहारामा नयाँ कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको जानकारी दिँदै भने– ‘माघ २ देखि फागुन २५ गतेसम्मको भ्रमणको समीक्षा गरेर नयाँ ढंगको आन्दोलन अघि बढाउने सम्भावना छ ।’

उत्साहित बनेका पूर्वराजाको के होला आगामी कदम ?

पूर्वराजा ज्ञानेन्द्रको पक्षमा आइतबार देखिएको ठूलो जनसमर्थनले स्वयम् ज्ञानेन्द्र र उनको समर्थनमा रहेकाहरु निकै उत्साहित भएका छन् ।

ज्ञानेन्द्रको फेरि राजा बन्ने सपनालाई आइतबारको जनसमर्थनले केही मलजल गरे पनि हालको संवैधानिक व्यवस्थाअनुसार ज्ञानेन्द्र राजा बन्ने अवस्था भने छैन् ।

मुलुकको कार्यकारी तथा मुख्य शासकीय पदमा आउने बाटो भीड नभएर संवैधानिक हुने भएकाले त्यस्ता भीडले राजालाई पुनस्र्थापित नगर्ने भएपनि माहोल बनेको भन्दै राजावादीहरु थप उत्साहित देखिएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा देखिएको उपस्थितिले भने गणतन्त्रवादी शक्तिहरूलाई ठूलो झड्का लागेको छ ।

यद्यपि गणतन्त्र आएपछि शासकहरुमा देखिएको असफलता र भ्रष्ट प्रवृत्ति नरोकिने हो भने पूर्वराजाको सपना र राजावादीहरुको योजना थप बलियो बन्दै जाने विश्लेषकहरुको भनाइ छ ।

पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा गरेको सम्बोधनमा देश बचाउनका लागि आफूलाई साथ दिन नेपाली जनतासँग आग्रह गरेका थिए ।

त्यससँगै राजाको सक्रियताको चर्चा चल्न थालेको थियो । त्यसपछि राजा निकट मानिएको दल राप्रपाले अन्य समर्थकको साथ बढाउँदै आफ्नो गतिविधि र कार्यक्रम हवात्तै बढाउँदै देशव्यापी बनाएको थियो ।

राप्रपाले राजाको उक्त सम्बोधनपछि पोखरा, बुटवल, धनगढी, नेपालगञ्ज हुँदै काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र राप्रपालगायतका दल र केही राजावादी समूहलाई प्रयोग गरी नारायणहिटीको सिंहासनमा फर्किन चाहन्छन् । भन्ने उनको पटक–पटकको सम्बोधनबाट स्पष्ट भइसकेको छ ।

तर, उहाँको मार्गचित्रचाहिँ स्पष्ट छैन् । यद्यपि आइतबारको राजधानी केन्द्रित शक्तिप्रदर्शन र पछिल्ला दिनमा पूर्वराजाप्रति देखिएको समर्थनका कारण पूर्वराजा ज्ञानेन्द्र फेरि शक्तिमा फर्किन सक्नेमा आशावादी बन्दै गएको दरबारनिकट स्रोतले जनाएको छ ।

देशभित्र आफ्नो पक्षमा बलियो माहोल बन्यो भने अन्तर्राष्ट्रिय समर्थनसमेत आफूले पाउने विश्वासमा उनले आफ्नो पक्षमा जनसमर्थन बढाउने प्रयास गरिरहेको उनीनिकट स्रोतले बताएको छ ।

यसैको तयारीस्वरुप पूर्वराजा ज्ञानेन्द्रले पटक–पटक भारत गएर राजनीतिक भेटवार्ताहरू गर्दै आएका छन् ।

उनले भुटानमा भ्रमण गर्दा ‘राजा’ कै हैसियतमा सम्मान दिइएको थियो । पूर्वराजा अहिलेका राजनीतिक दलहरूसँगै नयाँ समझदारी गरेर अघि बढ्न इच्छुक रहेको बताइएको छ ।

पूर्वराजाले आफू निकटस्थहरुसँग आफूसँग राजनीतिक दलहरूले विगतमा गरेको सम्झौता कार्यान्वयन नगरेर आफूलाई धोका दिएको गुनासो गर्दै आइरहेका छन् ।

अब पनि दलहरूसँग वार्ता र संवादका लागि उहाँ तयार रहेको स्रोत बताउँछ । ‘सरकारले कसैप्रति पूर्वाग्रह राखिबक्सेको छैन् ।

दलहरू चाहन्छन् भने संवादका लागि तयार होइबक्सन्छ’ –उनी निकट स्रोतले भन्यो । स्रोतका अनुसार पूर्वराजाले बाह्य शक्तिको दबाबमा नभएर देशभित्रै वातावरण बनाएर राजसंस्था पुनस्र्थापन हुनुपर्ने मनसाय व्यक्त गरिरहेका छन् ।

भुटानको बाछिटा काठमाडौंमा देखियो

गत असोज १७ देखि २० गतेसम्म छिमेकी मुलुक भुटानको राजकीय भ्रमणको बाछिटा अहिले मुलुकभर देखिन थालेको छ ।

भुटानी राजाले रातो कार्पेट बिच्याएर स्वागत मात्र गरेका पूर्वराजा ज्ञानेन्द्रका लागि हिन्दू धर्मसहितको राजतन्त्र पुनःस्थापनाका लागि पहल गर्ने वातावरणसमेत बनाइदिने काम गरेका थिए ।

छिमेकी मुलुक भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका विषेश दूत बनेर गएका भारतीय जनता पार्टीका केही नेताले पूर्वराजा ज्ञानेन्द्रलाई थिम्पूमा भेटेर हिन्दू अधिराज्यसहितको राजतन्त्र पुनःस्थापनाका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको सन्देश दिएका थिए ।

सेन्ट जोसेफ स्कुलका पूर्वसहपाठीसँगको भेट भनिए पनि पूर्वराजा ज्ञानेन्द्रलाई भारतीय खुफिया एजेन्सीका उच्च अधिकारीसहितको बैठकमा नेपालमा हिन्दूसहितको राजतन्त्रको बारेमा कुरा उठेको थियो ।

पूर्वराजा ज्ञानेन्द्रले उपयुक्त समयमा आफूले कदम चाल्ने भन्दै सहयोगको अपेक्षा गरेको बताएको स्रोतको दाबी छ ।

छिमेकीको सहयोगको आश्वासन दलहरुले मच्चाउँदै आएको कुशासनको फाइदा उठाउँदै पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र फर्काउने भन्दै पूर्वपञ्चहरुको पार्टी र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको सहारा लिएर मुलुकभर शक्ति प्रदर्शन शुरु गरेका छन् ।

दलबीचको बेमेल र केही दलका नेताहरुले नै राजा चाहिने अभिव्यक्ति दिएपछि हौसिनुभएका पूर्वराजा ज्ञानेन्द्रलाई नारायणहिटीमा फर्काउने भन्दै दिनहुँजस्तो दरवारमार्ग ज्ञानेन्द्रको फोटो र राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गर्नेहरु दिनहुँ बढी रहेको छ ।

नाम धार्मिक भ्रमण, काम राजनीतिक भेटघाट

पछिल्लो दुई महिनायता लुम्बिनी र गण्डकी प्रदेशको भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्रले मध्यपश्चिम, सुदूरपश्चिम र गण्डकी प्रदेशका अधिकांश धार्मिक क्षेत्रको भ्रमण गरेका छन् ।

गत माघ २ गते नेपालगन्ज पुग्नुभएका पूर्वराजाले त्यहाँका सबै राजावादी र राप्रपाका उच्च तहका नेतासँग भेट गरेका थिए ।

राप्रपाका महामन्त्री धवलशमशेर राणाको गृहजिल्ला बाँके, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको गृहजिल्ला जुम्ला, बर्दिया, कैलाली, कञ्चनपुर, रुपन्देहीको बुटबल, वाग्लुङ, कास्कीलगायत दुई दर्जन स्थानका शक्तिपीठको दर्शन गरेका पूर्वराजाले ती भ्रमणहरुमा राजनीतिक भेटघाट पनि गरे ।

उनले यसपटक राजावादीहरुसँग आन्तरिक रणनीतिबारे पनि छलफल गरेको बुझिएको छ ।

सोही छलफलको आधारमा फागुन ७ गतेको प्रजातन्त्र दिवस एवं पूर्वरानी कोमलको जन्म दिनको अवसर पारेर उनले अब चुप लागेर नबस्ने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिले हौसिएका राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईंलगायत हिन्दूवादी संस्थाले पूर्वराजालाई काठमाडौंमा भव्य स्वागत गरेका हुन् ।

जुलुसमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यको प्लेकार्ड

पूर्वराजा ज्ञानेन्द्रले हरेकपटक भारत भ्रमणको क्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गर्ने गरेका थिए ।

यसअघि लुम्बिनी प्रदेश भ्रमणमा जाँदा पूर्वराजा ज्ञानेन्द्रलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको बोर्डर रुपेडियादेखि उत्तरप्रदेसम्मको सुरक्षा व्यवस्था मिलाएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र योगी आदित्यनाथले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गर्ने क्रममा नेपालमा राजतन्त्र र हिन्दू राजा आवश्यक रहेको बताउने गरेका थिए ।

यसैकारण पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कंदा राजावादीले योगी आदित्यनाथलाई पनि सम्झेका थिए ।

विमानस्थलको मूलद्वारमा प्रदर्शनकारीले बोकेको योगी आदित्यनाथको तस्वीरअंकित प्लेकार्डमा राजावादी प्रदीपविक्रम राणा लेखिएको छ ।

त्यसैगरी राजा ज्ञानेन्द्रको तस्बीर अंकित प्लेकार्डमा ‘राजसंस्था पुनस्थापना गरौं’ उल्लेख थियो ।

विमानस्थलमा स्वागत गर्न पुगेका राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल अंकित टिसर्ट लगाउनुका साथै ज्ञानेन्द्रको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए ।

Page Views: 78
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama