काठमाण्डू, निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
सरकारले बजेट मार्फत घोषणा गरेको ‘टेक एन्ड पे’मा आधारित विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने नीतिबाट सरकार पछि हटेपछि घोषित आन्दोलनका कार्यक्रम फिर्ता गरेको हो ।
इप्पानले काठमाडौँमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री विष्णु पौडेलले उक्त प्रावधान संशोधन गरेको घोषणा गरेसँगै ऊर्जा क्षेत्रमा देखिएको अनिश्चितता हटेको जनाएको छ।
इप्पानले वरिष्ठ उपाध्यक्ष डाँगीको संयोजकत्वमा आन्दोलन समिति गठन गरी चरणबद्ध आन्दोलन घोषणा गरेको थियो।
पहिलो चरणमा प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट, ज्ञापनपत्र बुझाउने, एसएमएस अभियान र सामाजिक सञ्जालमार्फत ‘नो टेक एन्ड पे’ अभियान चलाइएको थियो।
इप्पानले यो नीतिले निर्माणाधीन तथा विकासका विभिन्न चरणमा रहेका १७ हजार ११७ मेगावाटका आयोजनाहरूको भविष्य अनिश्चित बनाएको र यसमा भइसकेको करिब १ खर्ब ९ अर्ब रुपैयाँ लगानी डुब्ने खतरा रहेको भन्दै तत्काल विरोध सुरु गरेको थियो।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले ‘रन अफ रिभर’ (आरओआर) आयोजनाहरूको पीपीए ‘टेक एन्ड पे’ आधारमा गरिने घोषणा गरेको थियो।
यस नीतिको अर्थ नेपाल विद्युत् प्राधिकरणले आयोजनाबाट उत्पादित बिजुलीमध्ये खपत गरेको वा लिन सकेको बिजुलीको मात्र भुक्तानी गर्ने भन्ने थियो।
सरकारले बजेटमार्फत ल्याएको ‘टेक एन्ड पे’ मा मात्र विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने नीति हटाएकोमा इप्पानका अध्यक्ष गणेश कार्कीले धन्यवाद दिंदै सरकारको यो कदमले जलविद्युत क्षेत्रमा देखिएको गम्भीर अनिश्चितता हटेको र लगानीका लागि सकारात्मक वातावरण बनेको बताए।
अध्यक्ष कार्कीले भने, यसको अर्थ सरकारले चाहेको बेला मात्र बिजुली किन्छु, नत्र किन्दिनँ भन्ने थियो। यसले अर्बौँको लगानी जोखिममा पारेको थियो।
तर, सरकारले हाम्रो आवाज सुनेर यो प्रावधान हटाएको छ, यसका लागि हामी प्रधानमन्त्री, अर्थमन्त्री र सम्पूर्ण सरकारलाई धन्यवाद दिन चाहन्छौँ।
यसैगरी वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले टेक एन्ड पेको प्रावधानले बैंक तथा वित्तीय संस्थाहरूले जलविद्युतमा लगानी गर्न नसक्ने अवस्था सिर्जना गर्ने अवस्था निम्तिएपनि सरकारले निर्णय फिर्ता लिनु सकारात्मक भएको बताए ।
इप्पानले यो निर्णयपछि रोकिएको १० मेगावाटसम्मको पीपीए प्रक्रिया पुनः सुरु हुने र सरकारको १३,५०० मेगावाट आन्तरिक खपत तथा १५,००० मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्र थप उत्साहित भएको जनाएको छ।