रसुवा : रसुवास्थित नेपाल -चीन सीमा नजिकैको ल्हेन्दे खोलामा आज बिहान आएको भीषण बाढीले चारवटा जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्याएको छ। बाढीले रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली थ्री ए चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा भौतिक क्षति पुगेको हो।
बाढीले सबैभन्दा बढी १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनालाई प्रभावित गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आयोजनाको बाँधको गेट नै बाढीले बगाएको छ ।
६० मेगावाटको त्रिशूली थ्री एु आयोजनाको भवनभित्र बाढीको पानी पसेको छ । यस्तै, रसुवागढी जलविद्युत् आयोजनाअन्तर्गतको एउटा महत्त्वपूर्ण पुलसमेत बाढीले बगाएको छ।
बाढीले क्षति पुर्याएका अन्य आयोजनाहरूमा २१ मेगावाटको चिलिमे हाइड्रोपावर र १९ मेगावाटको बेनी हाइड्रोपावर रहेका छन्। बाढीले पुर्याएको क्षतिको पूर्ण विवरण सङ्कलन कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।