काठमाण्डू, साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।
आज नेप्से परिसूचक १.२५ प्रतिशत अर्थात ३४.६१ अंकले बढेर २ हजार ७९४।७८ विन्दूमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६३ प्रतिशतले बढेर ४८९.२७ विन्दूमा पुगेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यससँगै सेयर बजार ४ महिनाकै उच्च विन्दूमा पुगेको छ । यसअघि नेप्से परिसूचक गत फागुन २५ गते २ हजार ७९० विन्दूमा थियो ।
यसका साथै आज भएको कारोबार समेत गत फागुन १९ पछिकै उच्च हो । गत फागुन १९ गते १४ अर्ब २८ करोड बढीको कारोबार भएको थियो ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज विकास बैंक समूह सर्वाधिक बढ्यो ।
यो समूह आज ३.७१ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.७४ प्रतिशत, फाइनान्स ०.७३, होटल ०.१३, हाईड्रो १.१२, लगानी ०.८४, जीवन बीमा १.०४, उत्पादन तथा प्रशोधन १.२२, लघुवित्त २.०४, म्युचुअल फण्ड २.०५,निर्जीवन बीमा २.१४, अन्य ०.४१ र व्यापार समूह ०.२६ प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन बुटवल पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६१ करोड ८७ लाख बढीको कारोबार भयो ।
राधी विद्युतको पनि आज ५६ करोड ६९ लाख, सानिमा माई हाईड्रोको ३९ करोड ९२ लाख, लुम्बिनी विकास बैंकको ३४ करोड २५ लाख र साहस उर्जाको ३३ करोड ७३ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका २ वटा स्क्रिप्टमा मात्रै अपर सर्किट लाग्यो । आज १० प्रतिशत केबीएल डिबेञ्चर र थ्रीस्टार हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ८.४१ प्रतिशत, अपर हेवाखोला हाईड्रोको ८.३० र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.०३ प्रतिशतले बढ्यो ।
आज माईखोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.८७ प्रतिशतले घट्यो ।
नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य २.९० र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य २.१४ प्रतिशतले घट्यो ।