काठमाण्डू, सुक्खाग्रस्त क्षेत्र घोषित मधेश प्रदेशमा सिँचाइ सुविधा पुर्याउन सकिने सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय बहुउद्देश्यीय आयोजनाको आवश्यकता यतिखेर पुष्टि भएको छ ।
तर , क वर्षअघि नै आयोजनाको सुरुङ छिचोलिए पनि ठेकेदारको लापर्बाहीका कारण बाँध निर्माणले गति लिन सकेको छैन ।
पटेल–रमण (संयुक्त) ले बाँध निर्माणको ठेक्का लिएको हो । १४ अर्ब सात करोड ५९ लाख रुपियाँको लागतमा यो बाँध निर्माण भइरहेको छ ।
बाँध निर्माण सुरु भएको ३० महिनामा सात प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीले पेस्की रकमस्वरूप एक अर्ब २० करोड रुपियाँ भुक्तानी लिइसकेको छ ।
सो आयोजना अन्तर्गत मधेश प्रदेशको बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ ।
यस आयोजनाबाट तराईका करिब २० लाख जनसङ्ख्या लाभान्वित हुने प्रक्षेपण गरिएको छ ।
आयोजनाको पानीले बर्सैभरि सिँचाइ हुने छ र जसबाट मधेश प्रदेशका पाँच जिल्लामा उल्लेख्य रूपमा उत्पादकत्व बढ्ने र यहाँका किसानले प्रतिवर्ष १० अर्ब ३० करोड रुपियाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ ।
सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय बहुउद्देश्यीय आयोजनाका प्रमुख बद्री कार्कीले सुनकोशीको पानी तराईका जिल्लासम्म पुर्याउने उद्देश्यले निर्माणाधीन बाँधको काम अगाडि बढ्न नसकेको बताए ।
सुनकोशी गाउँपालिकाको कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा बाँध निर्माण भइरहेको छ ।
उनका अनुसार ठेक्का लागेको ३० महिनामा अहिलेसम्म बाँधको काम मात्र सात प्रतिशत सम्पन्न भएको छ ।
गतआर्थिक वर्ष (२०८१/८२) मा बाँधको काम जम्मा एक प्रतिशत मात्र भएको थियो ।
बाँध निर्माणलाई अगाडि बढाउन कुनै समस्या नरहेको बताउँदै उनले ठेकेदार कम्पनीको लापरबाहीका कारण काम अगाडि बढ्न नसकेको स्पष्ट पारे ।
अहिलेसम्म समग्र आयोजनाकै भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । अहिलेकै गतिमा काम गर्ने हो भने बाँध निर्माण गर्न अझै चार वर्ष समय लाग्न सक्ने उनको आकलन छ ।
आयोजनाका पूर्वप्रमुख तारा बरालले सुनकोशीको पानी तराईसम्म पुर्याउन बाँधलगायत धेरै संरचना निर्माण गर्न बाँकी रहेको बताए ।
उनका अनुसार ३० मिटर अग्लो र १५८ मिटर लामो बाँध निर्माणपछि सुरुङमार्फत कमलामाई नगरपालिका कुसुमटारस्थित मरिण खोलामा सुनकोशीको पानी खसालिने छ ।
त्यहाँबाट मरिण खोला हुँदै पानी ब्यारेजसम्म पुग्छ । आयोजनाले सुनकोशी नदीबाट ६७ क्युमेक पानी पथान्तरण गरेर मरिण नदी हुँदै बागमती ब्यारेजमा पठाउँछ ।
उनले भने, “यही पानी लगेर बागमती ब्यारेजमा हालेर त्यहाँबाट बागमती नहर हुँदै सिँचाइ हुन्छ ।
यो आयोजना अन्तर्गत नदीको पानी नदीमार्फत नै नदीमा हालिने हो । सुनकोशीको पानी मरिण खोलामा ४४ किलोमिटर बगेर बागमतीसम्म पुग्छ ।’’
उनका अनुसार २०५० सालमा निर्माण भएको ब्यारेज, नहर संरचना, तिनीहरूको जीर्णोद्धार गर्न बागमती सिँचाइ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भइसकेको छ । चालू आव (२०८२/८३) बाट निर्माण शुरु हुन्छ ।
ठेक्का तोड्ने चेतावनी
मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र : एक सडक’ आयोजना अन्तर्गतका सडकको शिलान्यास गर्न गत जेठ १८ गते जनकपुर पुगेका प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम निर्धारित समयमा अगाडि बढ्न नसके ठेक्का तोड्ने चेतावनी दिएका थिए ।
उनले सिँचाइको आसमा रहेका मधेशका जनताले अब लामो समय जमिन बाँझो राख्न नसक्ने बताए ।
प्रधानमन्त्री ओलीले २०७७ फागुन २० गते यस आयोजनाको शिलान्यास गरेका थिए । २०८४ असोजसम्म यो आयोजनाको सम्पूर्ण काम सकिने लक्ष्य छ ।