बाजुरा, बाजुराको बडिमालिका नगरपालिका ४ मा रहेको ओलेना बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेको छ । बुढिगंगा नदीको कटानले बस्ती उच्च जोखिममा परेको हो ।
वर्षायाम शुरु भए लगत्तै बाढी र पहिरोको त्रासमा यहाँका स्थानीय रात कटाउन बाध्य रहेका छन् । बाढिपहिरोबाट यहाँका करिब दुई दर्जन परिवार विस्थापित हुने अवस्थामा छन् ।
बस्ती स्थानान्तरणको पर्खाइमा रहेका यहाँका स्थानीयको आशा अधुरै रहेको छ । वर्षौँदेखि बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेको भएपनि स्थानान्तरण भने हुन सकेको छैन ।
ओलेना बस्ती एक उदाहरण मात्रै हो । बाजुराका कयौँ घर बस्ती बाढिपहिरोको जोखिममा छन् । बाजुराका करिब १३५ बढी गाउँ बस्ती उच्च जोखिममा छन् जो स्थानान्तरणको पर्खाइमा पर्खिएका छन् ।
२०७७ साल साउन २५ गते बुढिगंगा नदीमा आएको भीषण बाढीले ओलेना बस्तीको ठुलो भाग कटान गर्दै दर्जनौँ घरहरूलाई उच्च जोखिममा पारेको थियो ।
त्यति मात्रै नभई गौमुल गाउँपालिकाका कयौँ घर बस्ती,बडीमालिकाको जुगाडा, भौनेरा, घागर लगायतका बस्ती जोखिममा परेका थिए ।
त्यो बेला बाढीबाट भएको क्षतिको अवलोकन गर्न हेलिकप्टर मार्फत ओलेना लगायत वस्तीमा आएका तात्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तत्कालै बस्ती स्थानान्तरण गरिदिने आश्वासन दिएपनि पाँच वर्ष पुग्दासमेत कार्यान्वयन भएको छैन ।