चितवन, शुक्रबार बेलुकीदेखि अवरुद्ध मुग्लिन-नारायणगढको पहिरो पन्छाउने क्रम अन्तिम चरणमा पुगेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला पुल नजिकै निरन्तर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ ।
सडक डिभिजन कार्यालयका अनुसार पहिरोका कारण वारपार नदेखिएको स्थान अहिले पन्छाउँदै जाँदा वारपार देख्न सकिने भएको छ ।
दुवैतर्फबाट पहिरो फाल्दै आइरहेको र आइतबार दिउँसोसम्म सडक आवागमन सञ्चालनमा ल्याउनका लागि निरन्तर प्रयास भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
बाटो अवरुद्ध भएर अलपत्र परेका यात्रुलाई चितवन जिल्ला सुरक्षा समिति तथा स्थानीय व्यवसायीको सहयोगमा खाजा र पानी वितरण गरिएको छ ।
खाजा र पानी वितरणका लागि नेपाल प्रहरी र अन्य सुरक्षा निकायका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए ।