इनरुवा, शनिवार विहानदेखि अविरल वर्षा हुँदा सप्तकोशी नदीमा पानीको बहाव उच्च हुँदै गएको छ ।
आइतबार विहान ७ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले २ लाख ७१ हजार ३१० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ ।
अहिले ब्यारेजको ३९ वटा ढोका खोलिएको छ । आइतबार बिहान ५ बजेको मापनअनुसार २ लाख २० हजार २२५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ ।
शनिवारदेखि नै पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च छ ।
कोशीमा पानीको बहाव उच्च हुदै गए पनि यो समाचार तयार पर्दासम्म कोसीले पूर्वी तटबन्धमा कुनै क्षति नगरेको कोशी तटबन्धनमै काम गर्दै आएका महोन मण्डलले बताए ।
उनका अनुसार पानीको बहाव बढे पनि राजावास, प्रकाशपुर, मधुवनलगायत पूर्र्वी तटबन्धमा कटान नभएको बताइएको छ ।
यद्यपि नदीको वरिपरि वसोबास गर्नेहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।