काठमाडौंदेखि बङ्गलादेशको राजधानी ढाकासम्म नेपाल वायु सेवा निगमले सिधा उडान गर्ने तयारी गरेको छ । निगमले निकट भविष्यमै सिधा उडान गर्न आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ ।
छिमेकी देश भए पनि यसअघि बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन । अब भने उडानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिएका छन् ।
हाल बङ्गलादेशबाट काठमाडौंमा नियमित उडान हुँदै आएको छ भने नेपालको निजी क्षेत्रको हिमालयन एयरलाइन्सले पनि ढाकामा उडान भर्दै आएको छ । तर,राष्ट्रिय ध्वजावाहकको उडान भने अहिलेसम्म हुनसकेको छैन भने अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा उडान तय गरिने निगमले जनाएको छ ।
त्यसैगरी निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवा थप विस्तार गरेको बताइएकाे छ । उक्त रुटमा निगमले गत चैत १७ गतेदेखि सातामा थप तीन दिन उडान थप गरेको हाे । नयाँ व्यवस्थापछि काठमाडौं–दिल्ली–काठमाडौं साताको १० उडान भइरहेको छ । त्यस्तै कार्गो व्यवसायलाई थप सुदृढ एवं उपलब्धिमूलक बनाउन कार्गो म्यानेजमेन्ट सिस्टम स्टडी टास्कफोर्स गठन गरिएको छ ।