आज एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल ओमानसँग भिड्दै छ । नेपाली समयअनुसार बिहान सवा ७ बजेबाट सुरु भएकाे प्रतियोगितामा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेकाे छ ।
सिंगापुरमा जारी प्रतियोगिताको समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै अन्तिम चारको यात्रा तय गरेको नेपाली टोली हाल उत्कृष्ट लयमा देखिएको छ । समूह चरणका खेलहरूमा नेपालले चीनलाई २२१ रन र मलेसियालाई १६७ रनको फराकिलो अन्तरले हराउँदै उपाधिका लागि आफ्नो बलियो दाबेदारी प्रस्तुत गरिसकेको छ ।
अर्कोतर्फ, समूह ‘बी’ को उपविजेता बन्दै ओमान सेमिफाइनलमा प्रवेश गरेको हाे । यस छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका चारै वटा टोलीहरूले आगामी एसियन गेम्सका लागि आफ्नो स्थान पक्का गरिसकेका छन् । समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट ओमान र हङकङले यसअघि नै एसियन गेम्सको टिकट काटिसकेका हुन् ।
आज नै हुने दोस्रो सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेता हङकङ र समूह ‘ए’ को उपविजेता मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।