गर्मि बढेसँगै खडेरी सुरु भएपछि असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न थालेकाले उदयपुरका किसान चिन्तित बनेका छन् । जिल्लाको त्रियुगा तथा चौदण्डी नगरपालिका क्षेत्रका किसानले रोपाइँ गर्न राखेको धानको ब्याड सुक्न थालेपछि चिन्तित बनेका हुन् ।
धेरै गर्मि र तातोसँगै खडेरीले धानको ब्याड चिरा पर्न थालेको किसानले बताएका छन् । त्रिनपा–३, भुल्केको दयानाथ भट्टराईका अनुसार जेठको सुरु हप्तादेखि नै बढी गर्मीसँगै तातो र सुक्खा खडेरीले ब्याड नै चिरा पर्न थालेकाले यसपटक धानको बीउ उत्पादन गर्न समस्या हुने र समयमा रोपाइँ गर्न नसकिने हो कि भन्ने चिन्ता लागेकाे बताए ।
त्यसैगरि भुल्के क्षेत्रमा मात्र झण्डै डेढ सयभन्दा बढी धानको ब्याड रहेको र अधिकांश सुक्खाले ब्याडमा चिरा पर्न थालेकाले बिउ उम्रन समस्या देखिएको अर्का किसान कृष्णप्रसाद फुँयाल बताउँछन् । अधिकांश किसानले धानको ब्याड भने वैशाखको अन्तिम हप्तादेखि जेठको पहिलो हप्ताभित्र राख्ने गरेका छन् ।