आज देशका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै छन् । आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण प्रस्तुत गर्ने तयारी रहेकाे छ ।
प्रत्येक वर्षको असार १ गतेभित्रै प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक तथा कानुनी व्यवस्था अनुसार बजेट सार्वजनिक गर्न लागिएकाे हाे । सोही नियमलाई पछ्याउँदै आज सातै वटा प्रदेशले बजेट ल्याउन लागेका हुन् ।
यसअघि नै सबै प्रदेश सरकारहरूको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेकाे र आज बजेट प्रस्तुत गर्ने बाटो खुला रहेकाले बजेट सार्वजनिक गर्न लागेका हुन् । विभिन्न प्रदेश सभाहरूले तय गरेको कार्यतालिका अनुसार सबैभन्दा पहिले मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने तयारी रहेकाे छ ।
त्यसैगरी कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट ल्याउने तयारी गरेको बताइएकाे छ । कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यतालिका बनाएका छन् भने सबैभन्दा ढिलो बजेट ल्याउने सूचीमा रहेका लुम्बिनी र सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे बजेट प्रस्तुत गर्ने आन्तरिक तयारी गरेका छन् ।