काठमाडौं । बहुचर्चित सेक्युरिटी प्रेस खरिद प्रकरणमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्म मैनालीले उक्त जानकारी दिएका हुन्।
मैनालीका अनुसार सार्वजनिक लेखा समितिबाट आयोगलाई प्राप्त भएका करिब १० वटा निर्देशनमध्ये सेक्युरिटी प्रेस खरिदसम्बन्धी विषयमा अहिले विस्तृत अध्ययन तथा अनुसन्धान भइरहेको छ। लामो समयदेखि चर्चामा रहेको यस प्रकरणमा अनुसन्धान अझै निष्कर्षमा पुग्न बाँकी रहेको उनले संकेत गरेका छन्।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिबाट प्राप्त निर्देशनका आधारमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित दुईदेखि तीनवटा उजुरीमाथि पनि विस्तृत अनुसन्धान भइरहेको मैनालीले बताए।
बैठकमा उनले रौतहटको दुर्गा भगवती गाउँपालिका कार्यालयसँग सम्बन्धित विषयमा भने अनुसन्धान सम्पन्न भई मुद्दा दायर भइसकेको जानकारी दिए।
अख्तियारले आफ्नो अनुसन्धान तथा मुद्दा प्रक्रियाबारे जानकारी गराउँदै आर्थिक वर्ष २०७४/७५ बाहेक अन्य वर्षमा अदालतबाट फैसला भएका मुद्दामध्ये ७० प्रतिशतभन्दा बढीमा कसुर कायम भएको जनाएको छ।
विशेष अदालतबाट आरोप पुष्टि नभई सफाइ पाएका मुद्दामा समेत आवश्यकताअनुसार आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने गरेको मैनालीले बताए।
यससँगै सेक्युरिटी प्रेस खरिद प्रकरणसहित विभिन्न सार्वजनिक निकायसँग सम्बन्धित उजुरीमाथि अख्तियारको अनुसन्धान प्रक्रिया निरन्तर अगाडि बढिरहेको छ।