चोभारकाे आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने उक्त मेलामा काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता रहेकाे छ ।
उक्त मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने गर्दछ । ऐतिहासिक र पुरातात्विक महत्वको सम्पदाका रुपमा स्थापित उक्त मन्दिर लिच्छवीकालीन मन्दिर हाे । शिव र पार्वतीको संयुक्त आकार प्रतिविम्बित मूर्ति राखिएको मन्दिरमा हिन्दू र बौद्ध धर्मका अनुयायीले साझा मन्दिरका रुपमा आस्था प्रकट गर्दै आएकाे पाइन्छ ।
मन्दिरलाई अर्धनारेश्वर र आदिनाथ भन्ने प्रचलन रहेकाे र मेलामा सहभागी भएमा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती रहेकाे छ । मन्दिरको दर्शन गरेमा भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेकाे छ ।
उक्त मन्दिरमा बौद्ध धर्मावलम्बीले करुणाका प्रतीकका रुपमा लोकेश्वरको पूजाआजा गर्ने प्रचलन छ । लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने र धनसम्पत्ति प्राप्त हुने विश्वासका साथ मन्दिरमा पूजाअर्चना गरिन्छ ।
काठमाडौँ उपत्यकाको मनोरम दृश्य देखिने उक्त मन्दिरबाट नजिकै मञ्जुश्री पार्क, जलविनायक मन्दिर, टौदह जस्ता धार्मिक महत्व बोकेका तीर्थस्थल रहेका छन् ।