राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसर पारेर आज भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पुगी विधिपूर्वक पूजाअर्चना गरेका छन् ।
प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको दर्शन गर्नुका साथै ऐतिहासिक तलेजु मन्दिरबाट ल्याइएको प्रसाद र टीका ग्रहण गरेका थिए । बडादशैँको समापनको दिन कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा उपस्थित भएर पूजाअर्चना तथा दर्शन गर्ने परम्परा रहेकाे छ ।
राष्ट्रपति पौडेल मन्दिर परिसरमा पुग्दा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू, भक्तपुर जिल्ला सुरक्षा समितिका अधिकारीहरू, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले उनकाे स्वागत गरेका थिए । त्यसैगरि पूजाअर्चनाको अवसरमा मन्दिर परिसरमा परम्परागत नवदुर्गा नाच तथा सांस्कृतिक नृत्य देखाइएको थियो ।
राष्ट्रपति पौडेलले ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली लगायत नवदेवी देवगणका मूर्तिहरूको दर्शन गरेका थिए भने मन्दिरका मूल नाइकेले राष्ट्रपति पौडेललाई तलेजु भवानीको मन्दिरबाट ल्याइएको जमरा, रातो टीका तथा विशेष प्रसाद दिएका थिए ।