गत कात्तिक ८ गते हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा हिजाे कात्तिक ३० गते नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) पुगेपछि सम्पन्न भएको छ ।
मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य) को सत्सङ्कल्पमा सुरु गरिएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर पुनः फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए ।
“देशका विभिन्न स्थानको यात्रा गर्दै मेची र महाकालीको जल ल्याएका छौँ । उक्त जल गण्डकीमा अर्पण गर्नेछौँ”, प्रवक्ता प्रपन्नाचार्यले भने । उनका अनुसार रथयात्राको स्वागत तथा दर्शनका लागि स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको बताइएकाे थियाे ।
उक्त रथयात्रा सम्पन्न भएसँगै आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु गरिँदैछ । महायज्ञको पहिलो दिन बिहान ८ बजे गौशालामा सामूहिक गौपूजा, ९ बजे गण्डकी पूजन र १० बजे बाजागाजा तथा भजनकीर्तनसहित कलश यात्रा गरिने बताइएकाे छ ।
यसरी गरिने कलश यात्रा गण्डकी नदीको तट हुँदै धामको परिक्रमा गरी यज्ञस्थलमा पुग्ने र त्यसपछि भगवान् मुक्तिनाथको सन्निधिमा सामूहिक सङ्कल्प, कन्या पूजा तथा दीप प्रज्वलन गरिनेछ । बिहान ११ बजेर ३५ मिनेटमा दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको पनि प्रवक्ता प्रपन्नाचार्यले जनाएका छन् ।
मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यले एकमहिने महायज्ञमा धान्याचल, पितृमुक्ति यज्ञ, हवन तथा भागवत प्रवचनलगायत धार्मिक अनुष्ठान गरिने बताएका छन् । “प्राकृतिक विपत्ति, सडक दुर्घटना, आन्दोलन, अतिवृष्टि, अनावृष्टि तथा कोरोना महामारीलगायत विभिन्न कारणले दिवङ्गत भएका आत्माहरूको उद्धार र शान्तिका लागि पितृमुक्ति महायज्ञ आयोजना गर्न लागिएको हो”, उनले भने ।
उनले महायज्ञमा सहभागी भई यज्ञशालाको परिक्रमा, जप तथा ध्यान गर्न भक्तजनलाई आग्रह गरेका छन् ।