नेपाल प्रिमियर लिग (एनपीएल) काे तेश्राे संस्करणअन्तर्गत एलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजसामु २०५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टसपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको हो ।
चितवनका लागि विकेटकिपर ब्याटर कमिल मिशाराले विस्फोटक शतकीय इनिङ्स खेलेका थिए । उनले ५९ बलमा अविजित १२० रन बनाए भने उनको इनिङ्समा ५ चौका र १० छक्का समावेश रहेकाे थियाे । उनले २०३.३९ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए ।
त्यसैगरि रवि बोपाराले ४२ बलमा ५३ रनको योगदान दिएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरे । देव खनालले १५ बलमा १७ रन बनाए भने विवेक यादवले ३ बलमा ८ रन जोडेका थिए । कुशल मल्ल शून्य रनमा अविजित रहे भने चितवनले अतिरिक्त ६ रन पाएको थियो ।
काठमाडौंका लागि करण केसी र राशिद खानले समान २–२ विकेट लिएका थिए । करणले ४ ओभरमा ३२ रन खर्चिए भने राशिदले ४ ओभरमा ३८ रन दिएका थिए । अब काठमाडौं गोर्खाजले जितका लागि २० ओभरमा २०५ रन बनाउनुपर्नेछ भने काठमाडौंले लक्ष्य पूरा गर्न प्रतिओभर १०.२५ रनको औसतमा रन बनाउनुपर्नेछ ।
एलिमिनेटर भएकाले यस खेलको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ ।