आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएकाे छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको हाे ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै आज आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने जनाएको हो ।
उक्त समय अवधिमा नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा सवारी आवागमन बन्द रहनेछ भने पहिरो पन्छाउने कार्यका क्रममा सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यता काठमाडौँदेखि मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा खण्डमा चल्ने सवारीसाधनको आवागमन भने सुचारु नै रहने सूचनामा उल्लेख गरिएकाे छ ।