Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अध्यक्ष दाहाल र जनार्दनवीच सहमतिपछि तत्काललाई साम्य भयो माओवादीभित्रको रडाको

- shuvadmin / शुक्रबार, साउन ३२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाललाई नेतृत्व छाड्न गरेको प्रस्तावले नेकपा माओवादी केन्द्रभित्र ल्याएको खैलाबैला तत्काललाई साम्य भएको छ।

शर्माको लिखित प्रस्तावलाई केन्द्रीय समितिमा पेस गर्ने, उनले पार्टी फुटाउन प्रयास गरेको भन्दै लगाइएको आरोपको सार्वजनिक रूपमा खण्डन गर्ने सहमति भएपछि पार्टीभित्रको अन्तर्संघर्ष तत्कालका लागि मत्थर भएको हो।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार (साउन ३१) बसेको स्थायी समिति बैठकले पार्टीमा देखिएका समस्याबारे छलफल गर्न असोज पहिलो साता केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको छ।

पार्टीमा देखिएका समस्या पहिल्याउन भदौ २ गतेदेखि प्रदेशहरूमा बैठक राखिएको छ। नेतारकार्यकर्ताका गुनासा सुन्न अध्यक्ष दाहालसहित पदाधिकारीहरू सबै प्रदेशमा खटिनेछन्।

‘जनार्दनजीले राखेको प्रस्तावलाई केन्द्रीय समितिमा छलफलका लागि लैजाने निर्णय भयो,’ एक पदाधिकारीले भने, ‘उहाँले (शर्मा) पार्टी फुटाउन लागेको भन्ने गलत हल्ला फैलाएको विषयमा संयुक्त रूपमा खण्डन गर्ने सहमति भएपछि समझदारी जुटेको छ।’

शर्माले साउन २६ गते स्थायी समिति बैठकमा माओवादी पार्टी निर्माणबारे भन्दै १२ पृष्ठ र अध्यक्ष दाहालले लगाएको आरोपको खण्डन गर्दै थप २ गरी १४ पृष्ठको प्रस्ताव पेस गरेका थिए।

सो प्रस्तावमा २०४३ सालदेखि लगातार अध्यक्ष रहेका अध्यक्ष दाहाललाई नेतृत्व छोड्न शर्माले आग्रह गरेका थिए भने तत्काल विशेष महाधिवेशन बोलाउन र सबै कमिटीमा तेस्रो पुस्तालाई सांगठनिक नेतृत्व दिन माग गरेका थिए।

सो प्रस्तावले माओवादी पार्टीमा खैलाबैला मच्चाएको थियो भने २०६९ पछि पहिलोपटक पार्टीभित्र आन्तरिक विवाद रहेको पुष्टि गरेको थियो।

शर्माले लिखित प्रस्तावमा अध्यक्ष दाहालको नामै राखेर सत्ता गठबन्धन फेरबदल गरिरहेको, प्रदेश सरकारलाई कमजोर बनाएको आरोप लगाएका थिए।

उनको प्रस्तावले अध्यक्ष दाहाल स्तब्ध भएको उनीनिकट नेताहरूले बताएका थिए। अध्यक्ष दाहालप्रति शर्माले कटाक्ष गरेपछि माओवादी पार्टीमा दुई लाइन संघर्ष चर्किने नेताहरूको आशंका थियो।

यद्यपि, धेरै नेताले शर्मालाई बिच्किन नदिई पार्टीलाई एकताबद्ध बनाउने भूमिका खेल्न अध्यक्ष दाहाललाई सुझाएका थिए।

बिहीबार (साउन ३१) गते सुरुमा पदाधिकारी र पछि स्थायी समिति बैठकमा अध्यक्ष दाहालले शर्माको प्रस्तावलाई केन्द्रीय समितिमा लैजान आफू तयार रहेको बताए।

जसले विश्वासको वातावरण बनेको र सहमतिको वातावरण बनेको नेताहरू बताउँछन्। शर्माले आफूनिकट नेताहरूलाई अध्यक्ष दाहाल लचक भएको सन्देश पठाएका छन्।

‘सैद्धान्तिक, राजनीतिक र वैचारिक विषयको बहस केन्द्रीय समितिसम्म पुग्छ,’ अध्यक्ष दाहालको भनाइ उधृत गर्दै ती पदाधिकारीले भने, ‘व्यक्तिगत र संवेदनशील विषयमा तत्काल आपसमा छलफल गरेर निष्कर्षमा पुगौँला।’

शर्माले आफूलाई अध्यक्षले पार्टी फुटाउँदैछ भन्ने आरोप लगाएको विषय लिखित प्रस्तावमा उल्लेख गरेका छन्।

त्यसबारे अध्यक्षले खण्डन गर्नुपर्ने उनको माग थियो। स्थायी समितिको बैठक सकिएलगत्तै दाहालले शर्माको माग सम्बोधन गरिहाले।

‘पार्टी फुट्ने कुरा बिल्कुलै निराधार हो। पार्टी फुट्छ भनेर केही समयदेखि टुट्छन् फुट्छन् भनिरहेका छन्। हो–हल्ला, प्रचार धेरै भयो। कतिपय सन्दर्भमा आशंका र भ्रम भए।

यो बैठकसम्म आउँदा ती सबै भ्रम चिरिएका छन्, अध्यक्ष दाहालले भने, ‘खासगरी शर्माले पार्टी फुटाउँछन् भनेको जस्तो जो माहोल बनेको छ, त्यो बिल्कुलै गलत हो, हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकर लगायत अन्यमाथि जे आशंका गरिएको छ, गलत छ।’

स्थायी समिति सदस्य उर्मिला अर्यालले पदाधिकारीहरू मिलेर बैठकमा आएको जानकारी दिइन्। ‘उहाँहरू पदाधिकारी छुट्टै बसेर एउटा समझदारी जुटाएर बैठकमा आउनुभएको थियो,’ अर्यालले भनिन्।

उपमहासचिव हरिबोल गजुरेलका अनुसार स्थायी समिति बैठकमा पेस भएका सबै लिखित प्रस्ताव केन्द्रीय समितिमा पेस हुनेछ।

‘अब हामी सबै मिलेर जाने हो, आशंकाहरू दूर गराउने, छलफल गर्नुपर्ने गर्ने हो,’ अध्यक्ष दाहालको भनाइ उधृत गर्र्दै गजुरेलले भने, उहाँ (शर्माले) ल्याएका कयौँ प्रस्ताव, हामीले पनि दिएका लिखित प्रस्ताव जहाँजहाँ छ त्यसलाई समावेश गरिन्छ भन्नुभएको छ।’

उपमहासचिव शर्माले स्थायी समितिमा पेस गरेको प्रस्ताव भिन्न मत नभएको प्रष्टीकरण दिएको गजुरेल बताउँछन्।

‘यो मेरो भिन्न मत होइन, मैले बैठकलाई प्रभावकारी बनाउन दिएका मत हुन्,’ शर्माको भनाइ उधृत गर्दै गजुरेलले थपे।

अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले पनि केन्द्रीय समितिमा निर्णायक छलफल गरेर निचोडमा पुगिने बताए।

साउन २५ देखि २९ सम्म बसेको स्थायी समिति बैठकमा ४२ जना नेता बोलेका थिए।

‘स्थायी समिति बैठकमा उठेका सबै विषयमा अध्यक्ष दाहालले संक्षिप्त उत्तर दिनुभएको छ,’ पोखरेलले भने, ‘तर अन्तिम संश्लेषण केन्द्रीय कमिटीमा हुन्छ भन्नुभएको छ।

केन्द्रीय कमिटीमा जानुअघि स्थायी समितिले प्रदेशका पदाधिकारी र त्यहाँ भएका केन्द्रीय सदस्यसम्मको सबै कुरा सुन्नेछौँ।’

माओवादीले ७ भूगोल र ३ गैरभूगोलगरी १० वटा प्रदेश संरचनाको अभ्यास गरिरहेको छ। ‘भदौभरिको तालिका आयो।

असोजमा केन्द्रीय कमिटी बैठक बस्छ। त्यसले विचारधारात्मक काम, सांगठनिक काम गर्छ,’ पोखरेलले थपे, ‘यसपटक सबैले बोलेका छन्। त्यो कसैको पनि भिन्न विचार होइन। पार्टी निर्माणकै सवालमा हो।’

शर्माको प्रस्तावले दाहाल रक्षात्मक

चार दशकभन्दा लामो समयदेखि अविच्छिन्न अध्यक्ष रहेका अध्यक्षलाई नेतृत्व छोड्न आग्रह गर्दै अहिलेसम्म माओवादीका कुनै नेताले पनि लिखित प्रस्ताव पेस गर्न सकेका थिएनन्।

मोहन वैद्य, डा. बाबुराम भट्टराईले फरक मत राखे पनि नेतृत्व फेर्ने कुरा उठाएका थिएनन्। तर, शर्माले तेस्रो तहलाई सांगठनिक नेतृत्व दिन आग्रह गरेका छन्।

त्यसका लागि तत्काल विशेष महाधिवेशन माग गर्नेदेखि केन्द्रीय समिति भंग गर्न माग समेत गरेका छन्। यसले माओवादीमा नयाँ अन्तर्संघर्ष र यो चर्किनसक्ने आकलन थियो।

तर, अध्यक्ष दाहालले जनार्दनलाई बिच्किन नदिने नीति अख्तियार गरेको र रक्षात्मक देखिएको नेताहरू सुनाउँछन्।

‘जनार्दनजीको प्रस्तावलाई केन्द्रीय समितिमा छलफल गराउँछु भन्नु, पार्टी फुटका विषयमा दिएका अभिव्यक्तिको अनुसन्धान गर्ने, खोजीनीति गर्ने र यथार्थ पत्ता लगाउन तयार रहनुले त्यही संकेत गर्छ,’ अर्का एक पदाधिकारीले भने।

नयाँ समझदारी बनेसँगै माओवादी पार्टीको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ। यद्यपि अब केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालको प्रस्तुति हेरेर नयाँ रणनीति बनाउने योजनामा शर्मा छन्।

‘अब तत्काललाई एउटा समझदारी भएको छ,’ शर्माले आफू निकटकालाई सुनाए, ‘केन्द्रीय समिति बैठक कुर्नैपर्‍यो।’

Page Views: 51
संबन्धित शिर्षकहरु
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
आजबाट भरी सिलिण्डर ग्यास पाइने
ताजा अपडेट
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama