Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रुसी सेनाबाट १७० नेपाली फिर्ता, ६१ जनाको ज्यान गएको अनुमान

- shuvadmin / शनिबार, भदौ ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, रुसी सेनामा भर्ती भई स्वदेश फर्कन इच्छुक अधिकांश नेपालीहरू आगामी कातिक–मंसिरभित्र नेपाल आइपुग्ने भएका छन्।

दक्षिण एसियाली मुलुकहरू भारत र श्रीलंकाले समेत आफ्ना नागरिकहरूलाई रुसी सेनाबाट फिर्ता ल्याउन अपेक्षाकृत सफलता प्राप्त नगरेका बेला नेपालले भने फिर्ता हुन इच्छुक सबैजसो नागरिकहरूलाई फिर्ता ल्याउने सफलता प्राप्त गरेको हो।

यससँगै दुखद खबर पनि छ। त्यो हो– रुसी सेनाको तर्फबाट युद्धमा ज्यान गुमाउनेहरूको संख्या पनि बढ्ने देखिएको छ।

हाल चलिरहेको छानबिनबाट पुष्टि भए युद्धमा मारिने नेपालीहरूको संख्या ३ दर्जनबाट बढेर पाँच दर्जन नाघ्न सक्छ।

थप २२ को डीएनए परीक्षण

रुस–युद्ध युद्धमा हालसम्म ३९ जना नेपालीहरू मारिएको आधिकारिक रूपमा पुष्टि भइसकेको छ।

तर, पछिल्लो समय रुसले मस्कोस्थित नेपाली राजदूतावासलाई युक्रेनसँगको युद्धमा मारिएका थप २२ नेपालीको डीएनए परीक्षण भइरहेको जानकारी गराएको छ।

‘सेनाको प्रक्रिया अनुसार उनीहरूले डीएनए टेस्ट गरेका हुन्’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘तर उनीहरू नेपाली नै हुन् भन्ने जानकारी आएको छ।’

डीएनए परीक्षणबाट पुष्टि भएपछि रुसले यससम्बन्धी जानकारी नेपाली पक्षलाई दिने गर्छ।

त्यसपछि उनीहरूको मृत्यु भइसकेको आधिकारिक जानकारी सार्वजनिक गरिन्छ।

आधिकारिक जानकारीका साथ रुसी पक्षले मृतकहरूको क्षतिपूर्ति लगायतको प्रक्रिया सुरु गर्छ।

अहिले डीएनए परीक्षण हुँदै गरेका सैनिकहरू सबै नेपाली रहेको पुष्टि भए रुस–युक्रेन युद्धमा मारिने नेपालीहरूको संख्या ६१ पुग्नेछ।

मृत्युको आधिकारिक पुष्टि भएका ३९ नेपालीबाहेक ६ जना नेपालीहरू युक्रेनको कब्जामा छन्।

१ सय ७० जना फिर्ता

नेपालका अलावा भारत र श्रीलंका लगायतका दक्षिण एसियाली मुलुकहरूबाट पनि रुसी सेनामा युवाहरू भर्ती भएका छन्।

तर, आफ्ना नागरिक फिर्ता ल्याउने सम्बन्धमा भारत र श्रीलंकाको तुलनामा नेपालले अधिक सफलता प्राप्त गरेको छ।

हालसम्म १ सय ७० जना नेपालीहरू रुसी सेनाबाट स्वदेश फिर्ता भइसकेका छन् र केही नेपालीहरू फिर्ता हुने प्रक्रियामा छन्।

परराष्ट्र मन्त्रालयका अनुसार यो संख्या मस्कोस्थित नेपाली राजदूतावासबाट आवश्यक कागजात बनाएर फिर्ता हुनेहरूको आधिकारिक तथ्यांक हो।

‘साथमा राहदानी नहुनेहरू आवश्यक कागजातका लागि दूतावास पुग्ने गरेका छन्,’ स्रोतले भन्यो, ‘दूतावाससँग सम्पर्क नगर्नेहरूको संख्या जोड्दा करिब तीन सय पुग्ने अनुमान छ।’

नागरिकता लिइदिँदा समस्या

युक्रेनसँगको युद्ध लम्बिने देखिएपछि रुसले विदेशी नागरिकहरूलाई सेनामा भर्ती लिने नीति अख्तियार गरेको थियो।

यसका लागि एक वर्ष रुसी सेनामा बिताएपछि सम्बन्धित व्यक्ति र उसका परिवारलाई रुसी नागरिकता लगायतका सुविधा दिने घोषणा समेत उसले गर्‍यो।

यस्तो घोषणापछि केही नेपालीहरूले रुसी नागरिकता लिएका छन्। नागरिकता नै लिएका कारण उनीहरूलाई रुसी सेनाबाट फिर्ता गर्न असम्भव रहेको अधिकारीहरूको भनाइ छ।

‘आफ्ना नागरिकहरूलाई फिर्ता गरिदेऊ भन्न सजिलो हुन्छ’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तर, रुसकै नागरिक भइसकेकाहरूलाई हाम्रा नागरिक हुन् भनेर कसरी फिर्ता गरिदेऊ भन्नेरु’

रुसी सेनामा भर्ती भएको जानकारी प्राप्त हुनासाथ नेपाल सरकार र मस्कोेस्थित नेपाली राजदूतावासले पहल सुरु गरेकाले आफ्ना अधिकांश नागरिक फिर्ता गर्न नेपाल सफल भएको ती अधिकारीले बताए।

तर, पहल ढिलो गरी सुरु गरेकाले दक्षिण एसियाली मुलुकहरू भारत र श्रीलंकाले भने नेपालको जस्तो सफलता प्राप्त गर्न सकेका छैनन्।

सर्वाधिक समस्यामा श्रीलंका

गत जुलाईसम्मको तथ्यांक अनुसार कम्तीमा ४ सय ५५ जना पूर्वश्रीलंकाली सैनिकहरू रुसी सेनामा भर्ती भएका थिए।

पछिल्लो समय यो संख्या बढेर २ हजार पुगेको र ती अधिकांश तमिल टाइगर्ससँगको युद्ध लडेका सैनिकहरू रहेको बताइएको थियो।

अपूर्व आर्थिक संकट झेलिरहेका बेला रुस–युक्रेन युद्ध सुरु भएकाले भूतपूर्व श्रीलंकाली सैनिकहरू संगठित रूपमै रुसी सेनामा पुगेका थिए।

रुसी सेनामा भर्ती भएका कतिपय श्रीलंकालीहरू युद्धमा मारिने र बेपत्ता हुने क्रम बढेपछि उनीहरूलाई फिर्ता ल्याउन माग गर्दै सम्बन्धित परिवारजनले त्यहाँ पनि प्रदर्शन गरेका थिए।

यसैक्रममा श्रीलंकाका विदेश राज्यमन्त्री थालाका बालासूर्या गत जुनमा रुस समेत पुगे।

तर, विदेश राज्यमन्त्री नै मस्को पुग्दासमेत श्रीलंकाले आफ्ना नागरिक फिर्ता ल्याउन सकेन। कारण थियो, रुसी सेनामा भर्ती भएका अधिकांश श्रीलंकालीले रुसी नागरिकता लिनु।

रुसी अधिकारीहरूको हवाला दिँदै अरब न्युजले रुसी सेनामा भर्ती भएकामध्ये ९६ प्रतिशतले रुसी नागरिकता लिने प्रक्रिया सुरु गरेको उल्लेख गरेको थियो।

‘एक त हामीले सुरुमै नेपालीहरूलाई फिर्ता ल्याउन पहल थाल्यौँ, त्यो बेला धेरै नेपालीहरूले रुसी नागरिकता पनि लिएका थिएनन्,’ सम्बद्ध एक अधिकारीले भने, ‘यही कारण श्रीलंकाले जस्तो अप्ठेरो बेहोर्नु परेन, यहीकारण अधिकांश नागरिकलाई फिर्ता गर्न हामी सफल भयौँ।’

अन्तिम समूह फर्कने तयारीमा

युद्धमा अमेरिका लगायतका पश्चिमी राष्ट्रहरूले युक्रेनलाई सहयोग गर्न थालेपछि युद्ध लम्बिने विश्लेषणसँगै रुसले विदेशीहरूलाई आफ्नो सेनामा भर्ती गर्न थालेको थियो।

यसैक्रममा सन् २०२३ को मे–जुनदेखि नेपालीहरू पनि रुसी सेनामा भर्ती हुन थाले। सुरुवातमा रुसी सेनामा भर्ती हुनेहरूमा अध्ययनका लागि रुस पुगेका नेपाली विद्यार्थीहरू थिए।

पछि आकर्षक तलब र सुरक्षित जागिरको लोभ देखाएर मानव तस्करहरूले नै नेपालीहरूलाई रुसी सेनामा भर्ती गराउन रुस लैजान थाले।

विदेशी नागरिकहरूलाई रुसी सेनाले सुरुमा एक वर्षको ‘कन्ट्रयाक्ट’ गरेर भर्ती गर्ने गरेका थियो।

नेपालको आग्रह र पहलपछि भर्ती रोक्ने र उनीहरूलाई फिर्ता पठाउने रुस राजी भयो।

यसमध्ये गत वर्ष (२०२३) को जुलाई–अगस्टसम्म भर्ती भएका अधिकांश नेपाली स्वदेश फर्किसकेका छन्।

रुसी सेना छाडे पनि जो नेपाल फर्केका छैनन्, उनीहरू जर्मनी, पोर्चुगल लगायत तेस्रो मुलुक पुगेका छन्।

स्रोतका भनाइमा रुसी नागरिकता नलिएका र फर्कन चाहने सबैजसो नेपालीहरू अक्टोबर–नोभेम्बरसम्म नेपाल फर्किसकेका हुनेछन्।

Page Views: 55
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama