बुटवल, सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि भैरहवा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (बुधबार) रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनको अभियोगमा जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।
सो अभियोगमा अदालतमा हाजिर हुन उनी मङ्गलबार बुद्ध एअरको विमानमार्फत त्यहाँ भैरहवा पुगेका थिए ।
आज आफैँ अदालतमा उपस्थित हुने लामिछानेको तयारी रहेको रास्वपा स्रोतले जनाएको छ ।
लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।