काठमाण्डू, त्रिकोणात्मक महिला टी–२० सिरिजमा आयोजक नेपालले तेस्रो खेलमा नेदरल्याण्ड्ससँग खेल्दैछ ।
नेपाल र नेदरल्याण्ड्सबीचको खेल आज मध्यान्ह सवा १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । श्रृंखलामा नेपाल जितको खाता खोल्न संघर्ष गरिरहेको छ ।
दुई म्याचमा लगातार हार बेहोरिसकेको नेपाली टिम आइतबार ह्याट्रिक हारबाट जोगिन पूरा कोसिस गर्नेछ ।
साथै नेपालसामु नेदरल्याण्ड्सविरुद्ध पहिलो हारको बदला लिने मौका पनि छ । पहिलो खेलमा डच टिमसँग नेपाल २० रनले पराजित भएको थियो ।
उक्त खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

नेपालले थाइल्याण्डविरुद्ध भने पहिलो खेलभन्दा कमजोर ब्याटिङ गर्यो ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनायो ।
नेपालका लागि कविता कुँवर र विन्दू रावलले सर्वाधिक २५र२५ रन जोडे । यस खेलमा नेपालको सुरुवात निकै कमजोर रह्यो ।
थाइल्याण्डविरुद्ध रन नजोड्दै नेपालले विकेट गुमाएको थियो । यस खेलमा नेपालका ओपनर सम्झना खड्का शून्य र ममता चौधरी २ रनमै पवेलियन फर्किइन् ।
शीर्ष क्रमका ब्याटर फ्लप हुँदा नेपालले थाइल्याण्डलाई चुनौतीपूर्ण लक्ष्य दिन सकेन् । यद्यपि नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गर्यो ।
थाइल्याण्डलाई १०२ रनको लक्ष्य पूरा गर्न हम्मेहम्मे परेको थियो । र, ६ विकेट गुमाएको थाइल्याण्डले उक्त लक्ष्य पूरा गर्न १९ ओभर खेल्नुपर्यो ।
यदि क्याच ड्रप नगरेको भए नेपालले खेल जित्ने सम्भावना बलियो थियो । तर, केही महत्वपूर्ण क्याच छुटाउँदा नेपालले हार बेहोर्न पुग्यो ।

अंकविहीन आयोजक टिम नेपाल अहिले तालिकाको पुछारमा रहेको छ । नेदरल्याण्ड्स भने २ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
उसले पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो म्याचमा भने थाइल्याण्डसँग ८ विकेटको फराकिलो हार बेहोर्यो ।
नेदरल्याण्ड्स आइतबार नेपाललाई हराएर महत्वपूर्ण २ अंक जोड्न चाहन्छ । यता नेपाल पनि दुई अंकको खोजीमा छ ।
सिरिजमा नेपालले अब चारवटा म्याच खेल्न बाँकी छ । तालिकाको शीर्ष स्थानमा रहने टिम नै च्याम्पियन हुने भएकाले नेपालका लागि बाँकी खेल निकै महत्वपूर्ण छन् ।
त्यसकारण नेपाल आइतबार नेदरल्याण्ड्सविरुद्ध जित्नैपर्ने दबाबमा हुनेछ । तेस्रो खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने पक्काजस्तै छ ।
शनिबार थाइल्याण्डविरुद्ध अलराउन्डर कविता कुँवर घाइते भएकी थिइन् । उनले तेस्रो खेल गुमाउने सम्भावना उच्च छ ।

यस्तो अवस्थामा नेपाललाई ठूलो घाटा हुन सक्छ । किनकी कविताले बलिङमा राम्रो सुरुवात दिलाइरहेकी थिइन् ।
उनले शनिबार थाइल्याण्डविरुद्ध बलिङमा २ ओभरमा ७ रन दिएर एक विकेट लिँदा ब्याटिङमा २५ रन जोडेकी थिइन् ।
नेपालले आइतबार उनको स्थानमा राजमति ऐरीलाई प्लेइङ–११ मा मौका दिने सम्भावना छ ।
नेपालको सम्भावित प्लेइङ–११ : ममता चौधरी, सम्झना खड्का, इन्दू बर्मा (कप्तान), सीता राना मगर, रुबिना क्षेत्री, पूजा महतो, विन्दू रावल, कविता जोशी, राजमति ऐरी, अलिसा यादव (विकेटकिपर) र मनीषा उपाध्याय ।