काठमाण्डू, त्रिकोणात्मक महिला टी–२० सिरिजमा थाइल्याण्डले आयोजक नेपाललाई १ सय ७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन बनायो ।
उसका लागि अविजित रहेका थिपाचा पुथावोङले २७ र चानिदा सुथिरुआङले २५ रन जोडे । यस्तै, नान्नापत कोन्चारोएनकाईले १९, अपिसरा सुवान्चोनरथीले १७ तथा नट्टाया बुचाथमले १० रन जोडे ।
नेपालका लागि मनीषा उपाध्यायले उत्कृष्ट बलिङ गरिन् । उनले चार ओभरमा एक मेडनसहित १८ रन दिएर महत्वपूर्ण तीन विकेट लिइन् । यस्तै, पूजा महतो र रचना चौधरीले एकरएक विकेट हात पारे ।

आजको खेलमा नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आन सीता राना मगर र रेवती धामीको स्थानमा रोमा थापा र रचना चौधरीलाई मौका दिएको छ ।
रचनाको यो डेब्यू खेल हो । जारी श्रृंखलामा नेपालले अहिलेसम्म जीत हात पार्न सकेको छैन् । हारमा ह्याट्रिक गरिसकेको नेपाली टिम आज जित्नैपर्ने दबाबमा हुनेछ ।
यदि सिरिज जित्ने सम्भावना कायमै राख्नु छ भने नेपालले मंगलबारको खेल आफ्नो पक्षमा पार्नैपर्ने समीकरण बनेको छ ।
यदि आजको खेलमा पनि हार बेहोर्छ भने नेपाल दुई म्याचअगावै सिरिज जित्ने दौडबाट आउट हुनेछ ।