काठमाण्डू, त्रिकोणात्मक महिला टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपाल १० विकेटले पराजित भएको छ । जारी श्रृंखलामा नेपालको यो लगातार पाँचौं हार हो ।
नेदरल्याण्ड्सले भने तेस्रो जीत निकाल्यो । आफ्नो पाँचौं खेलमा नेपालले दिएको १ सय ४६ रनको लक्ष्य १९.४ ओभरमा कुनै पनि विकेट नगुमाएर पूरा गर्यो ।
उसका लागि अविजित रहेका स्टेरे कालिसले ९८ र फेबे मोल्केनबोअरले ४८ रन बनाइन् ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रन बनायो ।
नेपालका लागि अलराउन्डर पूजा महतोले अर्धशतकीय पारी खेलिन् । उनले ५१ बलमा पाँच चौकाको सहयोगमा अविजित ६२ रनको पारी खेलेकी हुन् ।
टी–२० आईमा पूजाको यो दोस्रो अर्धशतकीय इनिङ हो ।
साथै, उनी जारी सिरिजमा अर्धशतक हिर्काउने पहिलो नेपाली ब्याटर बनेकी छन् । यस्तै, पूजा नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली महिला ब्याटर बनेकी छन् ।
त्यस्तै, नेदरल्याण्ड्विरुद्ध कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकासहित ३९ रन बनाइन् । यस्तै, रुबिना क्षेत्रीले २० तथा कविता जोशीले अविजित ७ रन जोडिन् ।
नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङले चार ओभरमा २५ रन दिएर सर्वाधिक दुई विकेट लिइन् । नेपालले अब सिरिजको अन्तिम खेलमा शुक्रबार थाइल्याण्डको सामना गर्नेछ ।