Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सिङ्गो दलित परिवार नै नागरिकताविहीन, ७२ वर्ष पुगेकी सतोदेवी वृद्धभत्ताबाट वञ्चित

- shuvadmin / सोमबार, चैत ०३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

शम्भुनाथ, एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जोकोहीलाई पनि अच्चम लाग्न सक्छ तर, यथार्थ यही हो ।

सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्न ठूलै सङ्घर्ष गरिरहेको छ ।

नेपालमै जन्मिए, यही हुर्किएँ तर अहिलेसम्म आफू नेपाली भएको कुनै पहिचान नै पाउन नसकिएको ६० वर्षीय मागैन सदाको गुनासो छ ।

घरकै मूली व्यक्ति मागैनको नागरिकता नबन्दा उनकी श्रीमती ५५ वर्षीया उर्मिलादेवी सदा, उनका जेठो छोरा २२ वर्षीय गोविन्दा, कान्छो छोरा १९ वर्षीय दीपक नागरिकताविहीन छन् ।

नेपाली भएको प्रमुख पहिचान नै नागरिकता नपाएका ती परिवारका सदस्यहरूले अहिलेसम्म राज्यबाट पाउनुपर्ने सबै सेवासुविधाबाट वञ्चित भएको दुःखेसो पोख्छन् ।

स्थानीय साहुमहाजनमा खेतीपातीको काम गर्दै आएका मागैनले नागरिकताका लागि सबै निकायमा धाउँदै आए पनि पहिचान पाउन नसकिएको बताए ।

जन्मेपछि कानूनी रूपमा राज्यको नागरिकहरूको फेहरिस्तमा नाम जोडिनुपर्छ तर बुवा फनि सदा र आमा चरी सदाको नागरिकता नहुँदा अहिले मागैन सदाको पूरै परिवार नै पहिचानबाट वञ्चित छन् ।

‘बुवाको नागरिकता नहुँदा मेरो जन्मदर्ता बन्न सकेन, अहिले मेरो नागरिकता नहुँदा श्रीमती र छोराहरूको पहिचान बन्न नसकेको हो,’ उनी भन्छन्, ‘जन्मदर्ता नबन्दा छोराहरूले विद्यालयमा पढ्न पाएनन् र उनीहरू सानै उमेरमा कमाउन भारत जानुपर्ने अवस्था आयो ।’

आर्थिक विपन्नताका कारण केही समय रोजगारीका लागि भारतको पञ्जाबमा काम गरेर फर्केका मागैन अब स्वदेशमै मेहेनत गर्न चाहे पनि नेपाली भएको कुनै पहिचान नहुँदा समस्या भइरहेको सुनाउँछन् ।

उनका अनुसार नागरिकताका लागि तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म नागरिकताको सिफारिसका लागि धाउँदै आएँ तर सकिएन ।

‘नागरिकताको सिफारिसका लागि जन्मदर्ता खोज्छन्, श्रीमानको नागरिकता र आमाबुवाको नागरिकता माग्छन्,’ उर्मिला भन्छिन्, ‘तर न आफ्नो जन्मदर्ता छ, न श्रीमान्को नागरिकता नै, नेपाली भएको कुनै प्रमाण नै छैन् ।

त्यसैले त नेपाली भएर पनि आफ्नो जीवन नै व्यर्थ भएको महसुस भइरहेको छ ।’

नागरिकता नहुँदा राज्यको मात्र होइन, समाज तथा समुदायबाट पनि अलग हुनुपरेको दुःखेसो उर्मिलाको अनुभव छ ।

उनी भन्छिन्, ‘नागरिकताकै अभावमा गाउँस्तरमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउन सकिरहेकी छुइनँ ।’ यस्तै समस्यासँग जुध्दैछन् सोही ठाउँका चन्दर सदाको परिवार पनि ।

उनकाबुवा धोथर सदाको नागरिकता नहुँदा चन्दरको सिङ्गो परिवार नै नागरिकता पाउनबाट वञ्चित छन् ।

चन्दरको नागरिकता नहुँदा उनकी ३५ वर्षीया श्रीमती कदमीदेवी, जेठी छोरी १७ वर्षीया पूजा, १५ वर्षीया छोरी श्रद्धा, १० वर्षीय छोरा फुलेशरा, ६ वर्षीया छोरी फुलेश्वरी सदा र चार वर्षीय छोरा आयुष सदा पनि जन्मदर्ता र नागरिकताबाट वञ्चित छन् ।

चन्दर सदाका बुवा धोथर सदाको नागरिकता नबन्दा अहिले पूरै परिवार पहिचानविहीन छन् ।

यो समस्या सप्तरीको शम्भुनाथ नगरपालिकामा मात्र होइन, सप्तरीको विभिन्न स्थानीय तहमा छ ।

सप्तरीका विभिन्न स्थानीय तहमा जन्मदर्ता, विवाह दर्ता र नागरिकताको ठूलो समस्या पाइएपछि व्यक्तिगत घटना दर्ताका लागि सचेतना कार्यक्रमसमेत सुरु गरिएको छ ।

द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सप्तरीमा हरवाचरवा दलित समुदाय लक्षित घटना दर्ता अभियान सञ्चालन गरेको हो ।

अभियानका क्रममा शम्भुनाथ नगरपालिकाका विभिन्न वडा तथा जिल्लाका विभिन्न स्थानीय तहमा नागरिकताबाट वञ्चित भएकाहरूको तथ्याङ्क सङ्कलन गरी जन्मदर्ता र नागरिकता बनाउनसमेत पहल गरिरहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता बिजली राम बताउँछन् ।

उनका अनुसार सप्तरीको शम्भुनाथ, बोदेबर्साइन, डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा तथ्याङ्क सङ्कलनसँगै नागरिकता जन्मदर्ता बनाउने अभियान सञ्चालन गर्दै आएको छ ।

यसरी जन्मदर्ताबाट वञ्चित रहेका तीमध्ये अधिकांशले जन्मदर्ताकै कारण पढ्न नसकेको समेत नपाइएको तथ्य पाइएको छ ।

चेतना आभावमा नागरिकता र जन्मदर्ताको महत्त्व नबुझेर पूर्वजहरूले समयमै जन्म, विवाह र मृत्युदर्ता बनाउन होस नपुर्याउँदा अहिलेको सन्ततिले नराम्ररी दुःख पाइरहेको शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिताकुमारी चौधरीको भनाइ छ ।

‘यतिखेर पूर्वजहरूले नागरिकताको खासै महत्त्व बुझेन र बनाउने प्रयास पनि गरेन,’ कार्यवाहक नगरप्रमुख चौधरीले भनिन्, ‘अहिले त्यहीँ भएर सन्ततिले दुःख पाइरहेका छन्, अब कानूनी जटिलता छ, हामीले चाहेर पनि नागरिकताका लागि सिफारिस गर्न सक्ने अवस्था छैन ।’

प्रमाण जुटाउन नसक्दा जन्मदर्ता र नागरिकताको सिफारिस गर्न कठिनाइ भइरहेको सुनाउँदै शम्भुनाथ नगरपालिका–३ का वडाध्यक्ष नवीनकुमार चौधरी ती परिवारको नागरिकता समस्या समाधानका लागि पहल गरिरहेको बताउँछन् ।

शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका सतोदेवी सदा उमेरले ७२ वर्ष पूरा गरिसकेकी छिन् । तर, अझै नागरिकता पाउन सकेकी छैनन् ।

२५ वर्षकै उमेरमा पति धोतर सदालाई गुमाएकी सतोदेवीले नागरिकता नभएकै कारण अझै वृद्धभत्तालगायत राज्यबाट प्राप्त हुने हरेक सुविधाबाट वञ्चित हुनुपरेको दुःखेसो सुनाइन् ।

दलित मुसहर बस्तीमा एउटा फुसको छाप्रोमा कष्टकर जीवन बिताउँदै आएकी सतोदेवीले नागरिकताका लागि थुप्रै ठाउँमा गुहारे पनि सफलता पाइनन् ।

‘छोराहरू सानै थिए, त्यत्तिबेलै पतिको मृत्यु भयो, पतिको नागरिकता थिएन,’ सतोदेवी भन्छिन्, ‘पतिको नागरिकता नहुँदा मेरो नागरिकता पनि बन्नेन, अहिले सबै सुविधाबाट वञ्चित छु ।’

बूढेसकालमा पेट पाल्न न त कुनै काम गर्न सकिरहेकी छु, न सरकारले कुनै सुविधा नै दिन्छ, त्यसैले त अहिले गाउँ बस्तीमै भिक्षाटन गरेर भएपनि दुई छाक पेट पाल्दैछु,’ सतोदेवीले आँखाबाट आँशु झाँर्दै भनिन् ।

‘श्रीमानको मृत्यु भएको करिब ४५ वर्षभन्दा बढी भइसक्यो, तर म अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउन सकेकी छुइनँ,’ सतोदेवी भनिन्, ‘सामाजिक सुरक्षा भत्ताका लागि नागरिकता खोज्छ, तर नागरिकता नै छैन ।’

श्रीमानको मृत्युपश्चात हरेक एकल महिलाले राज्यबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । तर नागरिकता नहुँदा आफू ती सुविधाबाट वञ्चित हुनुपरेको सतोदेवीको भनाइ छ ।

नागरिकता बनाइदिन वडाध्यक्षदेखि प्रमुख जिल्ला अधिकारी ९सीडीओ०सम्म गुहार्दा पनि नागरिकता बन्न नसकेको उनले दुःखेसो पोखिन् ।

‘वडाध्यक्षकहाँ पुग्दाँ पतिको नागरिकता ल्याउनु, सनाखत गर्ने मान्छे बोलाउनु भन्छन्,’ सतोदेवी भन्छिन्, ‘तर न पतिको नागरिकता छ, न सनाखत गर्ने भाइभतिजा नै छन् ।’

एउटा भाइको मृत्यु भइसक्यो, अर्का भाइबुहारी रोजगारीका लागि भारत गएका उतै हराए, त्यसैले सनाखत गर्ने व्यक्ति नै पाइनँ ।

जीवनको अन्तिम क्षणसम्म पनि नागरिकता पाउने सपना पूरा हुनसकेको छैन,’ उनले थपिन् ।

नागरिकताविहीन हुँदा राज्यबाट पाउनुपर्ने हरेका सेवा सुविधाबाट वञ्चित हुनुमात्र परेको छैन, आफ्नै देशभित्र गैरनागरिकका रूपमा बस्नुपर्ने अवस्था रहेको उनको दुःखेसो छ ।

रासस

Page Views: 30
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama