काठमाण्डू, पर्वतारोहण संचालक संघ नेपालले हरेक वर्ष वसन्त ऋतुपश्चात सगरमाथारल्होत्से हिमालमा पर्वतारोहण अभियान सम्पन्न गर्न पर्वतारोहण अभियानको डोरी टाग्ने कार्यमा संलग्न पर्वतारोही र कीर्तिमानी आरोहीहरुलाई नगदसहित सम्मानपत्रले सम्मान गरेको छ ।
डोरी टाँग्ने कार्यमा संलग्न पर्वतारोही एवं कीर्तिमानी आरोहीहरुलाई संघीय राजधानीमा आयोजित कार्यक्रममा नगद पुरस्कार र सम्मानपत्रले सम्मानित गरिएको हो ।
पर्वतारोही र कीर्तिमानी आरोहीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डेको उपस्थितिमा पुरस्कार तथा सम्मान वितरण गरिएको थियो ।
कार्यक्रममा मन्त्री पाण्डेले सगरमाथा सामान्य मानिसका लागि आकाशको फलजस्तै रहेको अवस्थामा नेपाली आरोहीले यसलाई सहज र सरल बनाएकोमा धन्यवाद दिएका छन् ।
जोखिम मोलेर नेपाल प्रवर्द्धन गर्नेहरुबारे गम्भीर भएर आफूले सोचेको बताउँदै राम्रा नीति, कानून बनाउने पक्षमा लागेको मन्त्री पाण्डेको भनाइ छ ।
यस क्षेत्रमा देखिएका विकृति, विसंगति निराकरणका लागि सुझाव दिन आग्रह गर्दै मन्त्री पाण्डेले आउने क्याबिनेटबाट पर्यटन नीति पास हुने जिकिरसमेत गरे ।
जलवायु परिवर्तनका कारण हिमालदेखि समुन्द्रसम्म असर परिरहेकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।
सन् २०२५ को वसन्त ऋतुमा पर्वतारोहणमार्फत प्रत्यक्षरुपमा ८० करोडभन्दा बढी राजश्व संकलन भएको संघका अध्यक्ष अध्यक्ष डम्बर पराजुलीले जानकारी दिए ।
संस्थाको सक्रिय एवं चुस्त समन्वयका कारण पर्वतारोहण गतिविधिहरु संचालनबापत राज्यकोषमा प्रत्यक्षरुपमा सन् २०२५ को वसन्त ऋतुमा रु। ८० करोडभन्दा बढी राजश्व संकलन हुनु पनि हामीहरु सबैका लागि सन्तोषको विषय रहेको उनको भनाइ थियो ।
पर्वतारोहण संचालन गर्दा उपभोग गरेको हवाई तथा स्थल यातायात, होटल, रेष्टुरेण्ट, आरोहण मार्गमा खाने बस्नको लागि गरिएको खर्च, कम्पनीले आय–ब्याय बापतको राजश्व, मूल्य अभिवृद्धि कर लगायत अन्य प्रत्यक्षरअप्रत्यक्ष खर्चहरु र उक्त खर्चबापत बजार चलायमान गर्न पुर्याएको योगदानलाई पनि अध्यक्ष पराजुलीले स्मरण गराए ।
२०७० सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन उद्योग महाशाखामा सहसचिवको संयोजकत्वमा इओए नेपाल, एनएमए, टान र पर्वतारोहण शाखाका प्रमुख सदस्य सचिव रहने गरी गठित पाँच सदस्यीय आरोहण सुधार सुझाव समितिले दिएको सुझावहरुलाई कार्यान्वयन गर्ने हो भने हाल पर्वतारोहण संचालनका क्रममा देखिएका फोहरमैला, आधार शिविर, सम्पर्क अधिकृत, आरोही एवं आरोहणमा संलग्न सबैका समस्याको व्यवस्थापन सहज तरिकाबाट हुनसक्ने संघको ठहर छ ।
यसबारे अध्यक्ष पराजुलीले सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक परिमार्जनसहित लागू गर्न अनुरोध गरेका छन् ।
त्यस्तै केही बर्षदेखि वसन्त ऋतुबाट सगरमाथा आधार शिविरमा फिल्ड अफिस स्थापना गरी आरोहण अभियानमा सहजिकरण एवं अनुगमनको शुरुवात भएकोमा उनले स्वागत गर्दै भौतिक पूर्वाधारसहित त्यसको निरन्तरताका लागि सरकारलाई अनुरोध गरेका छन् ।
संघले फोहरमैला धरौटी खारेज गरी फोहरमैलाको ब्यवस्थापनका लागि हिमालहरुको वर्गीकरण गरेर हिमालहरुमा आरोहण गर्ने आरोहीहरुबाट प्रति आरोही रकम उठाउने र फोहरमैला व्यवस्थापन कोष खडा गरी जम्मा भएको रकमबाट प्रत्येक वर्ष हिमालहरु पालैपालो सरसफाई अभियान संचालन गर्ने व्यवस्थाका लागि आवश्यक कानूनी प्रवन्ध मिलाउन सरकारलाई स्मरण गराएको छ ।
पर्यटन ऐन, नियमलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने मागलाई दोहोर्याउँदै अध्यक्ष पराजुलीले केही विषयमा व्यवसायीमाझ अझै घनिभूत छलफलको व्यवस्थासहित परिमार्जनमा जानुपर्ने सुझाव दिएका छन् ।