रसुवा, असार १५ गते । परम्परागत रूपमा धान रोपाइँ गर्दै दहीचिउरा खाने दिन । यसै दिनलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरिएको छ ।
सबैको गलामा धानको माला। निधारमा हिलोको टिका। हातमा धानको हरियो बिऊँ। खेतमा केही हल गोरू।
अनि गलामा धानका माला र निधारमा हिलो टिको लगाएका किसान र शरहबाट एक दिन हिलोमा पसेका मानिसहरु धान रोप्दै।
यो मनोरम र अनौठो दृश्य थियो रसुवाको कालिका गाउँपालिकाको जिवजिबे बजार नजिकैको गैरीगाउँ बेंसीको ।
सिमसिमे पानी परेपनि त्यसको कुनै परवाह नगरी कोही मनोरञ्जन त कोही साँच्चिकै मानो रोपेर मुरी फलाउन तल्लिन देखिन्थे ।
आइतबार जिबजिबेमा पनि २२ औँ राष्ट्रिय धान दिवस भब्य रुपमा मनाइयो ।
समुन्नत नेपालको प्राथमिक आधार, पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार भन्ने नाराका साथ यस बर्षको रोपाइँ महोत्सव २०८२ लाई स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले गाँउ पर्यटन प्रबर्धन मञ्च नेपाल र कालिका गाँउपालिकाको संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि थिए रसुवाका प्रतिनिधिसभाका सांसद माननीय मोहन आर्चाय । प्रमुख अतिथि आर्चायले यूवा पलायन रोक्ने देशमै रोजारीका अवसर सृजना गर्नु पर्नेमा जोड दिए ।

रसुवा पर्यटकीय हिसावले पनि प्रचुर सम्भावना भएको क्षेत्र भएकोले पर्यटनलाई कषिसँग जोडेर लानु पर्नेमा जोड दिए ।
उनले नयाँ गन्तब्यको खोजि गर्दै लाङटाङ र गोसाईकुण्डलाई अझ सहज र स्तरोन्नति गरी धार्मिक यर्पटन प्रर्वधनका लागि गर्न आफूले पहल गर्ने जानकारी दिए ।

नेपाल कृषि प्रधान देश भएकोले उत्पादनमूलक काममा लागेर स्वदेशी उत्पादन बढाउँदै रोजगारीका अवसर बढाउन युवा अग्रसर भएर नेतृत्वदायी भूमिकामा आउन पर्ने सांसद आर्चायको भनाइ थियो ।
कालिका गाउँपालिकाका अध्यक्ष हरिकृश्ण देबकोटाले नेपालमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण भएकोले खाद्यान्नमा आत्मनिर्भर हुनु पर्नेमा जोढ दिए ।

अध्यक्ष देवकोटाले नेपाली रैथाने खाद्य बस्तुको माध्यमबाट विदेशी आकर्षित गर्न सकिने बताए । कृषि र पर्यटनलाई सँगै लिएर जानसकेमा युवा पलायन र आम्दानीको भरपर्दौ श्र्रोत हुने जिकिर गरे ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता र कृषि बिज्ञले पनि नेपालमा कृषि उत्पादन र आयआर्जनका बिषयमा धारण राखेका थिए ।

स्थानीय भजन समूहले असारे भाखा मार्फत प्रमुख अतिथि र अतिथिलाई मलखाद र बिऊ बिजन समयमा उपलब्ध गराउन आग्रह गरेका थिए ।
असारे भाखामा प्रतियोगितात्मक कार्यक्रम पनि भएको थियो । बिजयी समूहलाई प्रमुख अतिथि आर्चायले नगद र प्रससा पत्र प्रदान गरेका थिए ।

गाँउ पर्यटन प्रबर्धन मञ्च नेपालका अध्यक्ष सकुन्तला देबकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
गाँउ पर्यटन प्रबर्धन मञ्च नेपालले आन्तरिक तथा बाह्र पर्यटक प्रर्वधन गर्न बिभिन्न कार्यक्रम गर्दै आएको छ ।




