वालिङ, स्याङजाको चापाकोट नगरपालिकामा रहेको प्रदेशकै पुरानो मध्येको चापाकोट टार सिँचाइ नहरको पुनस्निर्माण गरिएको छ ।
६० वर्ष अगाडि निर्माण भएको नहरमार्फत चापाकोट नगरपालिकाका विभिन्न वडाका १२ सय हेक्टर क्षेत्रफलमा सिँचाइ गरिँदै आएको छ ।
समथर चापाकोटको सो क्षेत्रलाई हराभरा गराउँदै आएको जीर्ण नहरको मर्मत भएपछि कृषकहरु उत्साहित भएका हुन् ।
चापाकोटका कृषक कमल पौडेलले नहरको मर्मतले आफूहरु उत्साहित भएको बताए ।
उनले भने, “नहर जताततै चुहिने अवस्थामा थियो अहिले त्यो सबै हटेको छ ।” नहर मर्मतपछि आफूहरुको समय र लागतसमेत बचत हुन पुगेको उहाँको भनाइ छ ।
नहरको ठाउँ ठाउँमा पहिरोले क्षति गराएको थियो भने ढुङ्गा र माटोको कारणले सिँचाइमा समस्या हुँदै आएको थियो ।
सङ्घीय सरकारको विशेष अनुदानमा नहर मर्मतका लागि बजेट विनियोजन भएपछि चापाकोटका किसानले सहज रुपमा सिँचाइ गर्न पाएका हुन् ।
पाँच करोडको लागतमा नहरको पुनस्निर्माण र व्यवस्थापन गरिएको चापाकोट टार सिँचाइ योजना अध्यक्ष कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
चापाकोट टार सिँचाइ नहर दार्शिङ खोलाबाट सुरु गरी चापाकोटको समथर भूभागसम्म २७ किलोमिटरको दूरीमा छ ।
नहर पहाड भिर,पहरा हुँदै निर्माण गरिएको हुँदा हरेक वर्ष समस्या आउने गरेको उनको भनाइ छ ।
२०२२ सालमा निर्माण सुरु गरिएको नहरको २०४८ सालमा मात्रै पूर्णरुपमा सञ्चलनमा आएको थियो ।
नहर निर्माणसँगै समथर भूभाग रहेको चापाकोटको मुहारनै फेरिएको हो । नहर निर्माण हुनुभन्दा पहिले चापाकोटमा अहिले जस्तो खेती नहुने गरेको अध्यक्ष सुवेदीले बताए ।
गएको वर्षको असारमा आएको ठूलो पानीले नहरमा धेरै क्षति बनाएको थियो जसको कारण राम्रोसँग धान रोप्न नपाएका कृषकहरुको यो वर्ष भने समस्या नरहेको कृषक सिजल परियारले बताए ।
धान उत्पादनमा समस्या नहोस् भनेर समयमै नहर मर्मत गरिएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय स्याङ्जाका प्रमुख किरण आचार्यले बताए ।
उनले भने, “जिल्ला कै धेरै धानखेती हुने समथर भूभागका कृषकले समयमा नै धान रोप्न पाउने गराउन छिटो काम गरेका हौं ।”