Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भेडी गोठाला भन्छन्–सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

- shuvadmin / शनिबार, साउन १८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बागलुङ, अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ । निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो ।

गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान ।

त्यही भेडाका बथानसँगै भेटिन्छन्, टेकध्वज घतान । पसिनाले निथ्रुक भिजेका शरीरका कपडा । शिरमा मैलिएको टोपी ।

बुढ्यौलीले चाउरिएका अनुहार । हिजोआज टीकाधारामा पुग्ने जोकोहीले भेट्छ टेकध्वजलाई । बागलुङको निसीखोला गाउँपालिका–६ का घतान गत जेठ अन्तिम साता टीकाधारा पुगेका थिए।

झन्डै २०० भेडाका बथान लिएर लेकमा उक्लिएका घतानको दैनिकी बिहान भेडा दुहुने र दिउँसोमा घाँस काट्नमै बित्ने गरेको छ ।

उनीसँगै रुकुमका सत्यराम विश्वकर्मा, रोल्पाका तीर्थबहादुर घर्तीसहित सात जनाको समूह त्यही गोठमा बस्छन् ।

सात जनाको झन्डै पाँच हजार भेडाले टीकाधाराको खर्कहरू ढपक्क ढाकिएका छन् । सबै एउटै गोठमा बस्ने हुँदा पालैपालो घाँस काट्ने र भेडा चराउन जाने गर्छन् ।

टेकध्वजले यसरी लेकमा बसेर भेडा पाल्न थालेको ५० वर्षभन्दा बढी भयो । ६४ वर्षीय घतान सानैदेखि गोठमा बस्दै आएका थिए।

उमेरले बुढ्यौली लागे पनि घतान अझै हट्टाकट्टा नै छन् । समुद्री सतहबाट चार हजार २०० मिटरको उचाइमा अझै पनि उत्साहका साथ उनले काम गर्दछन् ।

धेरै भेडा हुँदा हिउँदमा बेँसी र बर्खामा लेक उक्लिनुपर्छ । बाह्रै महिना एउटै ठाउँमा राखेर भेडालाई घाँस पुर्याउन नसकिने हुँदा लेक बेँसी गर्नुपर्ने बाध्यता छ ।

टीकाधारा बुकीपाटन क्षेत्र हो । यहाँ अरू पनि थुप्रै गोठाला बस्छन् । लेकमा बढी चिसो हुने हुँदा गर्मीयाममा पनि बाक्लो कपडा लगाएर बस्नुपर्ने अवस्था छ ।

पाँच दशक बढी समय भेडापालनमा खर्चिए पनि अहिलेसम्म कतैबाट अनुदान पाउन नसकेको घतान गुनासो गर्छन् ।

उनले भने, “यस्तो जाडो छ, सरकारले गोठालालाई एउटा न्यानो ज्याकेट दिए पनि लाउँदा हुँ, गोठको अवस्था यस्तो छ, गतिलो त्रिपाल दिए पनि हुन्थ्यो, बेलाबेलामा आएर कर्मचारीहरूले नाम टिपेर जान्छन्, तर दिने बेला केही पनि दिँदैनन्, समाचारले सरकारले किसानलाई अनुदान दिन्छ भन्छन्, हामीले अहिलेसम्म केही पनि पाएनौँ, बाउबाजेले यही पेसा गरे, हामीहरू पनि यसैमा लागियो अहिलेसम्म यहीबाटै परिवार चलाएका छौँ ।”

बुकीपाटनमा रहेका भेडी गोठ अब असोज लागेपछि मात्रै बेँसी झर्छन् । यति बेला टीकाधारा क्षेत्रमा बागलुङसँगै रोल्पा, रुकुम, म्याग्दी र डोल्पाबाट गोठालाहरू भेडा लिएर आएका छन् ।

बुकीपाटनभरि छरिएर रहेका गोठ र त्यहाँ बस्ने गोठालाको आ–आफ्नै कथाव्यथा र पीडा छ । तर, उनीहरूको गुनासो भने एउटै छ– सरकारले सहयोग गरेन ।

रुकुमपूर्वका सत्यराम विश्वकर्माले गोठालाका लागि राज्यले गोठ निर्माणका लागि चाहिने सामग्री दिए पनि आफूहरूका लागि ठूलो टेवा पुग्ने बताए ।

“हाम्रो अघिल्लो पुस्ताले पनि भेडापालन गर्नुभयो, अहिले मैले पनि यही पेसा समाएको छु, अहिले मेरा तीन सयको हाराहारीमा भेडा छन्, गाउँमै बसेर यति धेरै भेडा पाल्न सकिँदैन, ठाउँठाउँमा पुगेर भेडाको स्याहारसुसार गर्नुपर्छ”, विश्वकर्माले भने, “एउटा बर्खामा तीनचार ठाउँमा गोठ सारेर बस्नुपर्छ, गोठ बनाउनका लागि एउटा गतिलो त्रिपाल, रातिमा बाल्ने सोलार दिए हुन्थ्यो ।”

बुकीपाटनमा यति बेला भेडीका बथान र गोठालाको चहलपहल छ । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको भीडभाडनै हुने गरेको छ ।

पर्यटकले भेडाको बथानमा छिरेर दुःख दिने गरेको भेडीगोठाला लेकबहादुर विकले बताए । पर्यटक बथानमा छिरेर नाच्ने र दौडिने गर्दा भेडा भाग्ने गरेको उनको भनाइ छ ।

“घुम्न आएका पाँच–सात जना एकैपटक भेडाको बथानमा छिरेर नाच्छन्, चिच्याउँछन्, त्यो गर्दा भेडा डराएर टाढाटाढा भाग्छन्, भागेका भेडालाई जम्मा गर्न धेरै समय लाग्छ, यसरी बथानमा नपस्नु भन्दा उल्टै हामीहरूलाई गाली गर्छन् ।”


रासस

Page Views: 52
संबन्धित शिर्षकहरु
नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
ताजा अपडेट
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध
  • उपत्यकालगायत विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण
  • सुनचाँदीको मूल्यमा गिरावट
  • अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा
  • समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गरिने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama