काठमाण्डू, निजी विद्यालयले मनोमानी गर्न थालेको दर्जनौं गुनासो आएपछि काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेन्डरी स्कूल अनुगमन गरेको छ ।
अनुगमनका क्रममा कैफियत देखिएपछि महानगरको अनुगमन टोलीले २२ विवरण माग गरेको छ । टोलीले तीनदिनभित्र विवरण पठाउन पत्राचार गरेको छ । विवरण उपलब्ध नगराए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।
विद्यालयको नाममा पठाएको पत्रमा विद्यालयको शुरू अनुमतिपत्र, कक्षा ११ र १२ सञ्चालन अनुमतिपत्र, स्थानान्तरण भई आएको वा अन्यत्र गएको भए सो पत्र, विद्यालय सञ्चालन भएको भवनको नक्सापास, निर्माण सम्पन्न प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, व्यवसाय दर्ता प्रमाणपत्र, अघिल्लो आवको लेखापरीक्षण प्रतिवेदन, प्रबन्धपत्र, नियमावली, कर्मचारीको सेवा शर्तसम्बन्धी विनियमावली, घरबहाल र लिजमा लिएको भए सम्झौतापत्र, विद्यालय व्यवस्थापन समितिले अघिल्लो आवमा गरेका निर्णयका प्रतिलिपिहरू पेस गर्न पत्राचार गरेको छ ।
त्यसै गरी ईमिस अद्यावधिक भए नभएको विवरण, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोनयन पत्र, कम्पनीमा सञ्चालन भएको भए कम्पनी रजिस्टार कार्यालयको पत्र, सेयरधनी दर्ता किताबको प्रतिलिपि, गुठीअन्तर्गत सञ्चालन भएको भए गुठीको विधान, शुल्क निर्धारण भएको पत्र, विद्यालय वर्गीकरणको पत्र, कम्पनीसँग सम्बन्धित कागजपत्र, कक्षा ११, १२ मा अध्यापन गर्ने शिक्षक तथा कर्मचारीको विवरण, नियुक्तिपत्र र शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरू, कक्षा ११, १२ मा अध्ययन गर्ने विषयगत रूपमा विद्यार्थीको विवरण, स्थानीय तहबाट कुनै पत्र प्राप्त गरेको भए सो पत्र र विद्यालयसँग सम्बन्धित अन्य थप कागजात मागेको छ ।
कामपा शिक्षा विभागा निमित्त प्रमुख केशव ज्ञवालीले माग भएका कागजात भोलि सोमबारसम्म उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए ।
उनले भने – ‘विशेषगरी छात्रवृत्तिमा परेका विद्यार्थीसँग शुल्क उठाएको र विभिन्न मापदण्ड पूरा नगरेका कारण विद्यालयसँग सम्बन्धित सबै विभाग अनुगमनमा पुगेका हौं । ’
कामपाको सहरी योजना आयोग, राजस्व विभाग, कृषि तथा पशुपन्छी विभाग, सार्वजनिक निर्माण विभाग, सहरी व्यवस्थापन विभागसहितको टोली साउन १५ गते पुगेको थियो ।
जम्बोटोली विद्यालयमा पुग्दा दुई पक्षबीच चर्को भनाभन भएको थियो । अनुगमन गर्दा विद्यालयमा विविध समस्या देखिएकाले संयुक्त टोलीले अनुगमन गरी कागजात माग गरेको विभागप्रमुख ज्ञवालीले जानकारी दिए ।
शिक्षा विभागमा प्राप्त उजुरीहरूका आधारमा गरिएको उक्त अनुगमनले विद्यालयको सञ्चालनमा गम्भीर अनियमितताहरू फेला पारेको सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले बताए ।
उनका अनुसार विद्यालयका विद्यार्थीले छात्रवृत्तिको शुल्क लिएको विषयमा विभिन्न समयमा उजुरी दिएका थिए ।
‘उक्त उजुरीलाई सम्बोधन गरी छात्रवृत्तिमा छनोट भएका विद्यार्थीसँग शुल्क नलिन पटक पटक गरेको आग्रह अटेर गरेपछि अनुगमन गरेका हौं ।’ आयोगका सदस्य एवं शिक्षाविज्ञ झाले भने ।
विद्यालयका प्रिन्सिपल दीपेन्द्र भण्डारीले आपूmहरु नियमसंगत सञ्चालन भएको दाबी गरे ।
कामपाले पठाएको लिस्टको आधारमा छात्रवृत्ति विवरण गरेको उनको जिकिर छ ।
तर, अनुगमन र विद्यार्थीको उजुरीका आधारमा हेर्दा विद्यालयले प्रयोगात्मक र परीक्षावापत शुल्क उठाउने गरेको पाइएको छ ।
आयोगका सदस्य झाले वार्षिक २५ हजार रुपियाँसमेत लिएको उजुरी परेपछि शुरूमा विद्यालय प्रशासनलाई त्यस्तो कार्य रोक्न आग्रह गरिएको र अटेर गरेपछि अनुगमन गरिएको बताए ।
प्रिन्सिपल भण्डारीले विद्यालयको पढाई भइरहेको समयमा लुटपाट गर्ने शैलीमा अनुगमन गर्न आएको आरोप लगाए ।
उनले भने – ‘हामीले महानगरलाई ८ प्रकारका कर तिरेर विद्यालय सञ्चालन गरिरहेका छौं, यत्तिकैमा आरोप लगाएर हुलहुज्जत गर्न आउनु गलत हो । ’
उनले कामपाले पठाएको पत्रको बारेमा आज आइतबार कामपामा पुगेर जवाफ दिने बता
उनले भने – ‘कानूनविपरीत हामीले कुनै काम गरेका छैनौं । तर, कामपाले हामीमाथि आरोप लगाएर व्यवयासमा धक्का दिन खोजेको छ ।’
आयोगका सदस्य झाले विद्यालय सही ढंगले सञ्चालन भएको भए भोलिसम्म सबै प्रमाणहरू आउनुपर्ने बताए ।
‘हामीले नियमअनुसार सञ्चालन गर्न आग्रह गरेका हौं, विद्यालयलाई हतोत्साही गर्न खोजेका होइनौं, उनले भने ।
प्रिन्सिपल भण्डारीले महानगरको अनुगमन टिमले विद्यालयका सहायक प्रिन्सिपल लगायतसँग अभद्र व्यवहार गरेको आरोप लगाए ।
कामपा प्रहरीबल प्रमुख राजुनाथ पाण्डेले विद्यालयको भौतिक पूर्वाधार, क्यान्टिन सञ्चालन र सञ्चालन अनुमतिमा कमजोरीहरू फेला पारेको बताएका छन् ।
उनले भने –‘भौतिक संरचनाको अवस्था बेहाल छ, यस विषयमा पनि अनुगमन गरेको थियौं ।’
। विद्यालयले तीन वर्षअघि बूढानीलकण्ठबाट बसुन्धरामा स्थानान्तरण भएको र कक्षा ११ र १२ को सञ्चालनका लागि तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद्बाट अनुमति लिएको दाबी गरेको छ ।
यी दाबीहरू पुष्टि गर्न महानगरपालिकाले कागजात माग गरेको हो । महानगरपालिकाले हालै सामुदायिक र निजी विद्यालयहरूमा छात्रवृत्ति कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि विशेष अनुगमन अभियान सञ्चालन गरेको छ ।
एक दर्जन विद्यालयविरुद्ध नियमित अनुगमन गर्छौं : झा
काठमाडौं महानगरपालिकाका सहरी योजना आयोगका सदस्य एवं शिक्षाविज्ञ शैलेन्द्र झाले करिब एकदर्जन विद्यालय विरुद्ध उजुरी परेको बताए ।
अधिकांश विद्यालयले छात्रवृत्ति दिने नाममा शुल्क लिएको विषय उजुरीमा परेको उनको भनाइ थियो ।
केही विद्यार्थीले हावादारी उजुरी दिएका छन् । विद्यार्थीले दिएका उजुरीको बारेमा विद्यालयसँग जानकारी लिँदा विद्यार्थीको गलत नियत देखिएको पत्ता लगायौ ।
ती बाहेक छात्रवृत्ति दिँँदा मनपरी गरेको विद्यालयमा अनुगमन गर्ने तयारी रहेको उनको भनाइ थियो ।
‘कामपाले छात्रवृत्तिलाई पारदर्शी बनाउन अनुगमनलाई तीव्रता दिएको छ । झाले भने, ‘छात्रवृत्तिमात्रै होइन अन्य विषयमा समेत अनुगमन गर्नेछौं ।’