काठमाण्डू, नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा कुलबहादुर गुरुङले उमेदवारी घोषणा गरेका छन् ।
हिमाल र हिमालसंँग जोडिएका हरेक चुनौति, अवसर र मुद्दालाई नजिकबाट नियालेको र बुझेका गुरुङले संघको अघिल्लो कार्यकालमा महासचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।
पर्यटन व्यवसायको क्षेत्रमा लामो समयदेखि सङ्गालेको अनुभव, काम गर्ने योग्यता र क्षमता प्रदर्शन गर्नको लागि नेतृत्वमा आउन चाहेको उम्मेदवार गुरुङको दावी छ ।
पर्वतीय पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरमै व्यापक प्रचारप्रसार लगायतमा योगदान गर्न र पर्वतीय पर्यटन क्षेत्रमा गनुपर्ने धेरै कामहरु आफूले देखेको र ती कामहरु पूरा गर्न आफ्नो उम्मेद्वारी रहेको गुरुङको अठोट छ ।
गुरुङले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा पूर्वउपाध्यक्ष, इन्टरनेसनल क्लाइम्बिङ एण्ड माउन्टेनरिङ फिडिरेसन (उइआ) मा व्यवस्थापन समितिका पूर्वसदस्य, गुरुङ टुरिज्म इन्टरप्रेनर्स एसोसिएसन नेपाल (जिटिन)मा संस्थापक अध्यक्ष, गणेश हिमाल टुरिज्म डेभलपमेन्ट काउन्सिलमा संस्थापक अध्यक्ष, क्लाइमेट एलाइन्स अफ हिमालयन कम्युनिटिजमा सचिवलगायत विभिन्न क्लब तथा संघसंस्थाहरुमा विभिन्न जिम्मेवारी पूरा गरिसकेका छन् ।

आगामी भदौ ७ गते हुन लागेको संघको निर्वाचनमा लोकतान्त्रिक पर्यटन व्यवसायी संघको तर्फबाट गुरुङलाई अध्यक्ष पदका लागि सर्वसम्मत अघि सारिएको छ ।
गुरुङको उम्मेद्वारीलाई साझा बनाउन अन्य राजनीतिक दल निकट पर्यटन व्यवसायीहरु र स्वतन्त्र व्यवसायीहरुकोसमेत कसरत भइरहेको जनाइएको छ ।

संघको नेतृत्व सम्हाल्नको लागि वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे, पूर्वसचिव टीकाराम गुरुङ र वरिष्ठ पर्यटन व्यवसायी फुर गेल्जे शेर्पाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
