काठमाण्डू, नेपाल पर्वतारोहण संघको आगामी निर्वाचनमा पर्यटन व्यवसायी तथा समाजसेवी फुर्वा गेल्जे शेर्पा समूहले उम्मेदवारी घोषणा गरेका छन्।
भदौं ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पिडकाजी), द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पाले उम्मेदवारी दिएका छन्।

सदस्य पदमा केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, माधवकुमार धमला, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डंगोल, डोल्मा लामा र निशा भोटे रहेका छन्।
“पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि मेरो उम्मेदवारी” भन्ने नारासहित उनले आफ्नो विस्तृत कार्ययोजना सार्वजनिक गर्दै सदस्यहरूको हकहित संरक्षण, अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उकास्ने र पर्वतारोहण क्षेत्रलाई व्यवस्थित बनाउने प्रतिबद्धता सहित प्रस्तुत योजनामा उनले ‘माउन्टेन टुरिजम युनिभर्सिटी’ स्थापना, अन्तर्राष्ट्रियस्तरको आरोहण तालिम केन्द्र सञ्चालन, आरोही कल्याणकारी कोषलाई व्यवस्थित गर्दै आपतकालीन उद्धार प्रणालीलाई प्रभावकारी बनाउनेजस्ता एजेन्डा समावेश गरेका छन्।

अध्यक्षका आकांक्षी शेर्पाले भने नेपालमै उच्चस्तरीय अध्ययन र तालिमको सुविधा उपलब्ध गराउन सके विदेशी विद्यार्थी र प्रशिक्षार्थीहरूलाई समेत आकर्षित गर्न सकिनेछ।
शेर्पाले हिमाल आरोहणमा विश्व कीर्तिमान राखेकालाई अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष सुविधा प्रदान गर्ने, जलवायु परिवर्तनबाट प्रभावित हिमाली क्षेत्रमा प्रत्यक्ष संरक्षण कार्यक्रम सञ्चालन गर्ने र स्थानीयस्तरमै ‘रेस्क्यू टिम’ गठन गरी तत्काल उद्धार सुनिश्चित गर्ने योजना पनि अघि सारे।
उनले भने, सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राख्नेहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलहरूमा विशेष सुविधा दिने व्यवस्था मिलाउने छ।
“शिर ठाडो हुनु भनेको आम नेपालीको शिर ठाडो हुनु हो,” उनले भने, “त्यसैले कीर्तिमानीलाई सम्मान गर्न छुट्टै पहल गरिनेछ।”

‘विश्वमा नेपालले दिन सक्ने सबैभन्दा ठूलो परिचय भनेकै माउन्टेन टुरिजम हो, जहाँ विश्वमा नभएको हिमाल हामीसँग छ, यसको भूमिका पर्वतारोहण संघले गर्र्नुपर्छ र मेरो प्रमुख एजेन्डा नै यही छ,’ उनले भने।
हिमाली क्षेत्रमा स्थानीय रेस्क्यू टिम गठन गरी आवश्यक तालिम र उपकरणको व्यवस्थापन गर्ने बताए। उनले भने, “मौसम खराब हुँदा उद्धारमा ढिलाइ हुने समस्याको अन्त्यका लागि स्थानीय स्तरमै पूर्वतयारी आवश्यक छ।”उनको प्रतिवध्दतामा उल्लेख छ ।

हाल कोङबुचे, थामे, मनाङ र पोर्चेजस्ता क्षेत्रमा रहेका तालिम केन्द्रहरूलाई समन्वय गर्दै अन्तर्राष्ट्रियस्तरको “हिमाल आरोहण तालिम केन्द्र” सञ्चालन गर्ने योजनासमेत उनले सार्वजनिक गरे।
यो तालिम केन्द्रले नेपाली गाइडहरूलाई दक्ष बनाउने र विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने विश्वास उनले व्यक्त गरे।
पर्वतारोहण पर्यटनको समग्र विकास र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्वतीय छवि उचो बनाउने दृष्टिकोणसहित उम्मेदवार बनेका शेर्पाले नेपालमै पर्वतीय शिक्षा, तालिम, उद्धार र संरक्षणलाई सशक्त बनाउने दाबी गरेका छन्।

सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा जन्मिएका शेर्पा सन् १९९९ देखि २००२ सम्म संघको कार्यसमिति सदस्य र एक कार्यकाल विदेश विभाग प्रमुखको रूपमा काम गरिसकेका छन्।
उनले हिमाली क्षेत्रमा उद्धार, समाजसेवा र पर्वतीय पर्यटनको प्रवर्द्धनमा दुई दशकभन्दा बढी समय सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।