काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारत र चीनले लिपुलेकबाट सीमा व्यापार शुरू गर्नेगरी गरेको सहमतिप्रति आपत्ति जनाएका छन् ।
यस विषयमा नेपालका दलले साझा धारणा बनाएर दुई छिमेकीलाई एउटै सन्देश दिनुपर्ने उनले बताए ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा महामन्त्री थापाले नेपालको उपस्थितिविना नेपाली भूमिमा गरेको सहमतिप्रति कांग्रेसको असहमति रहेको जनाएका हुन् ।
‘हाम्रो भूमिबारे हाम्रो अनुपस्थितिमा भारत र चीनले सम्झौता गरेको पढ्यौं । नेपाली कांग्रेस पार्टी छिमेकीको यो व्यवहारप्रति असहमति जनाउँछ, यो आपत्तिजनक र अस्वीकार्य छ’ गगनले भने, ‘नेपाल सरकारले जुन पहलकदमी गरेको छ, सबैलाई समेटेर अगाडि बढाओस् ।’
महामन्त्री थापाले नेपालको भूमि रक्षा सम्बन्धमा सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने बताए ।
‘यो विषयमा नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ । हिजो पनि उभियौं, हाम्रा मतमतान्तर होलान्, हाम्रो प्रतिस्पर्धा एक ठाउँमा छ ।
यसलाई घरेलु राजनीति या उग्रराष्टवादी हुनेतर्फ नलागौं’ थापाले भने, ‘हामी एक ठाउँमा उभिएर भारत र चीनलाई एउटै सन्देश दिनुपर्नेछ– हाम्रो भूमिमा आँखा लगाउने कुरा हामी कसैलाई स्वीकार्य छैन ।
नेपालले प्रतिवाद गर्छ । हामीले यो पोजिसन बनाउनु पर्छ ।’
नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले पनि भारत र चीनबीच लिपुलेकमा सीमा व्यापार शुरू गर्ने समझौताको विरोध जनाएका थिए ।
चिनियाँ विदेश मन्त्री वाङ यीको भारत भ्रमणको क्रममा अगस्ट १९ (भदौ ३) मा लिपुलेकबाट सीमा व्यापार गर्नेबारे दुई देशबीच सहमति भएको थियो ।