काठमाण्डू, तराईका जिल्लामा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ ।
पछिल्लो तथ्यांकअनुसार ३६ जिल्लाका ११३ जनामा संक्रमण पुष्टि हुँदा २३ जनाले ज्यान गुमाइसकेका छन् ।
मृतकमध्ये अधिकांश ४० वर्षमाथिका छन् र उनीहरूले खोप नलगाएको पाइएको छ ।
परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार अघिल्ला वर्षको तुलनामा यसपटक मृत्युदर उच्च देखिएको छ ।
गतवर्ष ८६ संक्रमितमध्ये २५ जनाले ज्यान गुमाएका थिए भने यस वर्ष ११३ संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेमध्ये लुम्बिनीमा सबैभन्दा बढी प्रभावित भएको छ । रुपन्देही, प्युठान, दाङ, बाँके, बर्दिया, नवलपरासी, चितवन, सिन्धुली, स्याङ्जा, मोरङ, झापा, कैलालीलगायतमा मृत्यु भएको छ ।
नेपालमा पहिलोपटक रुपन्देहीमा सन् १०७८ तिर जेई देखिएको अनुमान गरिएको थियो । आधिकारिक परीक्षण भने २००३ बाट शुरु भयो ।
यो तथ्यांकले संक्रमण र मृत्युदर दुवै बढ्दो देखाएको छ । विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार जेई प्रायः १५ वर्षमुनिका बालबालिकामा बढी देखिन्छ ।
तर, नेपालमा पछिल्लो समय ४० वर्षमाथिका मानिसमा मृत्युदर उच्च देखिएको छ र मृत्यु हुने अधिकांशले खोप नलगाएको पाइएको जनाएको छ ।
हाल जेई खोपलाई नियमित खोप कार्यक्रमअन्तर्गत समेटिएको छ ।
तर, खोप लगाउने उमेर समूह वयस्कसम्म विस्तार हुन सकेको छैन, जसले ४० वर्षमाथिमा मृत्युदर बढाएको विज्ञहरूको भनाइ छ ।
यसले गर्दा जेई संक्रमणबाट बच्नेमध्ये करिब ५० प्रतिशत बिरामीमा स्नायु प्रणालीमा स्थायी असर देखिन्छ ।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नेपालमा देखिने जेई, डेंगु, मलेरिया, चिकनगुनिया र हात्तीपाइले सबै लामखुट्टेबाट सर्ने भएकाले छुट्टाछुट्टै कार्यक्रम नभई एकीकृत लामखुट्टे नियन्त्रण रणनीति आवश्यक छ र वयस्क जनसंख्यालाई पनि खोप अभियानमा समावेश हुनुपर्छ ।
जोखिम क्षेत्रका धानबारी, स्थिर पानी हटाउने, सुँगुर पालनलाई बस्तीबाट टाढा राख्ने, लामखुट्टे नियन्त्रणलाई डेंगु, मलेरिया र जेईसँगै एकीकृत अभियानका रुपमा अघि बढाउनु आवश्यक रहेको बताए ।
जापानिज इन्सेफलाइटिस नेपालमा ‘हराएको’ जस्तो लागे पनि पुनः तीव्र रूपमा बढ्दै गएको छ ।
४० वर्षमाथि तथ्यांकअनुसार मृत्यु भएकामध्ये १८ जना ४० वर्षभन्दा माथिका र ५ जना ३० वर्षमुनिका छन् ।
सामान्यतया जेई १५ वर्षमुनिका बालबालिकामा बढी देखिन्छ । तर, नेपालमा पछिल्लो समय उमेर समूह उल्टिएको डा। गौतम बताउँछन् ।
कहाँ कति संक्रमित
लुम्बिनी प्रदेशमा ३७
बागमतीमा १८
कोशीमा १७
मधेशमा १४
गण्डकीमा १६
सुदूरपश्चिममा ९
कर्णालीमा २
विगत १० वर्षको अवस्था
२०१५ मा ५० संक्रमित
२०१७ मा ८१ संक्रमित, १ मृत्यु
२०२० मा २४ संक्रमित
२०२२ मा ७९ संक्रमित
२०२३ मा १०७ संक्रमित, ७ मृत्यु
२०२४ मा ८६ संक्रमित, २५ मृत्यु
यस वर्ष ११३ संक्रमित, २३ मृत्यु
यस्ता छन् बच्ने प्रमुख ५ उपाय
-खोप अभियान सबै जोखिम क्षेत्रका बालबालिका र वयस्कलाई लक्षित ।
-लामखुट्टे नियन्त्रण, स्थिर पानी हटाउने, धानबारी व्यवस्थापन, कीटनाशक छर्कने ।
-पशुपालन व्यवस्थापन विशेष गरी सुँगुरलाई घरबाट टाढा राख्ने, किनभने उनीहरू ‘एम्प्लिफाइङ होस्ट’ हुन्छन् ।
(समुदाय सचेतना लामखुट्टे जाल प्रयोग, सरसफाइमा जोड ।
-छिटो उपचार र निगरानी संक्रमण शंका लाग्नासाथ अस्पतालमा तत्काल उपचार र रिपोर्टिङ ।