विराटनगर, विराटनगर विमानस्थलको नयाँ टर्मिनलको पूर्वाधारतर्फको काम अन्तिम चरणमा पुगेको छ ।
यद्यपि निर्माण कम्पनीसँगको सम्झौता अवधि पुस मसान्तसम्म भने यसको निर्माण सम्पन्न हुने सम्भावना छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर संजीव खड्काका अनुसार अहिले भौतिक प्रगति ७५ प्रतिशत छ ।
‘सिभिल वर्क सकिएको छ’ इन्जिनियर खड्काले भन्नुभयो, अब मेकानिकलतर्फका कामहरु बाँकी छन् ।
विमानस्थलसँग सम्बन्धित उपकरणहरु कतिपय आइसकेका र कतिपय आउने क्रममा रहेको इन्जिनियर खड्काले जानकारी दिए ।
उनले उपकरणहरुको स्टल गरिसक्दा आर्किटेक्टतर्फका कामहरु समेत सकिने बताए ।
इन्जिनियर खड्काले सम्झौता अनुसार पुस मसान्तसम्मको म्यादमा काम नसकिए पनि आगामी नयाँ वर्ष २०८३ साल वैशाखमा विराटनगरले नयाँ टर्मिनल भवनबाट सेवा प्रारम्भ गर्ने विश्वास व्यक्त गरे ।
टर्मिनल भवन निर्माण सम्झौता २०७९ मङ्सिरमा केसी/डाँफे जेभीसँग भएको थियो । यसको शिलान्यास भने २०७९ फागुन १ गते भएको थियो ।
भ्याटबाहेक २ अर्ब ४२ करोडमा १६ हजार २७७ वर्ग मिटरको भवन निर्माण हुनुपर्नेछ । हालसम्म ७१ प्रतिशत भुक्तानी ठेकेदार कम्पनीले बुझिसकेको छ ।
केसी डाँफे जेभी निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर रमेश पौडेलले दैनिक २ सयभन्दा बढी कामदार परिचालन गरेर निर्माणको काम गरिरहेको जानकारी दिए ।
दशैं अगाडिको केही अनिश्चय अवस्थाका कारण केही दिन काम होल्ड हुँदा त्यसले असर पारेको पौडेलको भनाइ छ ।
विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन देशभरका आन्तरिक विमानस्थलमध्ये ठूलो हुनेछ ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलको १५ हजार वर्ग मिटर र गौतमबुद्धको १४ हजार वर्गमिटरको टर्मिनल भवन छ ।
जबकी विराटनगर विमानस्थलको भने १६ हजार २७७ वर्गमिटरको टर्मिनल भवन निर्माण भइरहेको छ ।
वि.सं. २०२५ सालमा बनेको पुरानोभन्दा उत्तरतर्फ नयाँ टर्मिनल भवन बनेपछि विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना छ ।
पुरानो टर्मिनल भवनले ओगटेको क्षेत्रमा धानव मार्ग विस्तार गर्दा २७० मिटर बढ्ने अनुमान गरिएको छ ।
हाल विराटनगर विमानस्थलको धावन मार्ग एक हजार ५०० मिटरको छ । नयाँ टर्मिनल भवन ५५० यात्रु बस्ने क्षमता र १७ वटा चेक इन काउन्टर हुनेछ ।
त्यस बाहेक अति विशिष्ट कक्ष, बालबालिका खेल्ने स्थल, विशिष्ट कक्ष, पत्रकार सम्मेलन कक्ष, भन्सार–अध्यागमन, क्यारेन्टाइनसहित केही व्यावसायिक कारोबार क्षेत्रसमेत रहनेछ ।
तीनवटा तला भएको भवनमा चारवटा लिफ्ट र चारवटा स्काइलेटर रहने योजनामा उल्लेख छ ।
कोशीका पर्यटन व्यवसायी भवेश श्रेष्ठले आधुनिक टर्मिनल भवन निर्माणसँगै विराटनगर विमानस्थलबाट पर्वतीय उडानको शुरुवात गराउन सके त्यसबाट लाभ लिन सकिने सम्भावना रहेको बताए ।
उनले अन्तर प्रादेशिक उडान, अन्तरदेशीय उडानको समेत सभ्भावना रहेको बताए ।