काठमाण्डू, गत पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले आज केन्द्रीय कार्यालय, सानेपामा पदबहाली गर्ने भएको हो ।
दिउँसो १ बजे सानेपामा पदबहाली कार्यक्रम रहेको नेता मनोजमणि आचार्यले जानकारी दिए । नयाँ कार्यसमिति चुनिएर आएपछि केन्द्रीय कार्यालय पुगेको छैन । यसअघि दुई वटा बैठक बानेश्वरमा भएका छन् ।

यसैगरी, कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पनि आजै बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए ।

कांग्रेसले पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित हुन भनेको छ ।
बैठकअघि पार्टी कार्यालयमा बाक्लो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।

विशेष महाधिवेशनमा नयाँ कार्यसमिति आएपछि कांग्रेसमा विवाद छ । यो विवाद सर्वोच्च अदालत पुगेको छ ।
शेरबहादुर देउवा र पूर्णबहादुर खड्का लगायतले नयाँ कार्यसमितिलाई अवैधानिक भन्दै अन्तरिम आदेशको मागसहित अदालत पुगे पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
