मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भेगमा अझै केही दिन गर्मी बढ्ने भएकाे छ । आज र भोलि मधेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका र खोँचहरूमा गर्मी बढ्ने महाशाखाले जनाएकाे छ ।
त्यसैगरि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेकाे र त्यसबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । केही दिनयता तराई–मधेशसहित देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको र कतिपय ठाउँमा तातो हावा चलेको पनि महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार कपिलवस्तु, भैरहवा, बाँके लगायतका स्थानकाे तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ । त्यस्तै अहिले विभिन्न स्थानमा तातो हावा चल्न थालेपछि तराई मधेशको जनजीवन असहज बन्दै गएको बताइएकाे छ ।
महाशाखाले जनाए अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेकाे छ ।