लोकप्रिय गायक मोतिराज खनाल र गायिका यशोदा कार्की को सुमधुर आवाजमा सजिएको नयाँ गीत “बैगुनी मायालु” सार्वजनिक भएको छ। प्रेम, पीडा, बिछोड र भावनात्मक संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ विशेष चर्चा बटुलिरहेको छ। मौलिक लोक स्वाद, आधुनिक संगीत संयोजन र भावनात्मक प्रस्तुतिका कारण गीतले छोटो समयमै संगीतप्रेमीहरूको ध्यान आकर्षित गर्न सफल भएको छ।
गीतमा मोतिराज खनाल र यशोदा कार्की को मन छुने स्वर सुन्न सकिन्छ। गीतका शब्द शंकर घिमिरे र विश्वास घिमिरे ले संयुक्त रूपमा सिर्जना गरेका हुन् भने लय स्वयं गायक मोतिराज खनालले तयार पारेका हुन्। संगीत संयोजन रमेश सेन्चुरीले गरेका हुन्। मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ सागर बाजुरालीले सम्पन्न गरेका हुन् भने मिक्सिङ खडक बाजुरालीले गरेका छन्।
गीतको म्युजिक भिडियोमा विश्वास घिमिरे, बिन्दु आचार्य, अनिशा बेल्बासे तथा बिशेष घिमिरे को प्रभावशाली अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन स्वयं विश्वास घिमिरेले गरेका हुन्। ड्रोन दृश्यहरू चोप सिलवालले कैद गरेका छन् भने छायांकन तथा सम्पादनको जिम्मेवारी सन्जय पाठकले सम्हालेका छन्।
गाउँघरको मौलिक परिवेश, हरियालीले भरिएको प्राकृतिक वातावरण तथा प्रेम र बिछोडको संवेदनशील कथालाई भिडियोमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ। भावनात्मक अभिनय, उत्कृष्ट कथा प्रस्तुति र अनुभवी कलाकारहरूको समन्वयले “बैगुनी मायालु” लाई अझ जीवन्त र प्रभावशाली बनाएको निर्माण टिमले जनाएको छ।
नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा निरन्तर सक्रिय रहेका मोतिराज खनाल ले विगत दुई दशकभन्दा लामो समयदेखि आफ्ना सिर्जनामार्फत दर्शक तथा श्रोताको मन जित्दै आएका छन्। वि.सं. २०६१ सालदेखि सांगीतिक यात्रामा सक्रिय उनले मनोरञ्जनसँगै सामाजिक सन्देश, मौलिक संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
उनका “सुपा देउराली भजन”, “मालारानी भजन”, “यो दिलसँग त्यो दिल गाँसौँला”, “ऋण बढेर दोब्बर भइसक्यो”, “लालीगुराँस फुल्यो मायालु”, “आउ बस आडैमा”, “क्या राम्री पुतली”, “सम्झनाले हो”, “मामा घर”, “जंकाभेट”, “पैसाको बिटो”, “नक्केले साइली”, “छड्के कपाल किन कोरेको”, “यो सन्देश पठाइदेऊ मेरी सानीलाई” तथा “बिर्सु कसरी” लगायतका गीतहरू नेपाली संगीत बजारमा निकै रुचाइएका सिर्जनाका रूपमा परिचित छन्।
विशेषगरी अर्घाखाँची जिल्लाको धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर तयार पारिएका “सुपा देउराली भजन” र “मालारानी भजन” जस्ता सिर्जनाले स्थानीय कला, संस्कृति र पर्यटनको प्रचारप्रसारमा उल्लेखनीय योगदान पुर्याएका छन्। लोकसंगीतलाई आधुनिक स्वादसँग जोड्दै मौलिक पहिचान जोगाइराख्ने प्रयासमा गायक मोतिराज खनालको योगदान नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण मानिन्छ।
“बैगुनी मायालु” पनि प्रेम, संवेदना र यथार्थ भावनाले भरिएको उत्कृष्ट सांगीतिक कोशेलीका रूपमा दर्शक तथा श्रोतामाझ आएको निर्माण पक्षले जनाएको छ।