अहिले मुलुकमा उपल्लो वायुमण्डलकाे पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाे छ । जसका कारण माैसम बादलीसँगै कतै वर्षा र कतै गर्मीकाे सम्भावना देखिएकाे छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रभावका कारण देशकाे केहि भू-भागमा आंशिक बादल र हल्का वर्षाकाे सम्भावना रहेकाे छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणता बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको बताइइएकाे छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा बादल लाग्नुका साथै सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ । त्यस्तै लुम्बिनी प्रदेशको तराई भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा गर्मीकाे सम्भावना रहेको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणता बादल लाग्ने छ भने मधेस प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।