अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नुका साथै मधेस प्रदेशमा आंशिक बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल रहनेछ । कोशी प्रदेशका केही स्थानहरू, देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।