सरकारले भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज भन्सार कार्यालयबाट मासिक राजस्व संकलनमा वृद्धि भएको छ । एक सयभन्दा बढीको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि मासिक राजस्व संकलनमा वृद्धि भएको हाे ।
अहिले विगतका महिनामा भन्दा भन्सार राजस्व उल्लेख्य रूपमा वृद्धि भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेल जनाएका छन् । उनका अनुसार, भन्सारमा कडाइ गरेपछि चैत र वैशाख महिनामा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको बताइएकाे छ ।
गत फागुन महिनामा १ अर्ब ९३ करोड, ३८ लाख १९ हजार सङ्कलन भएकोमा चैत महिनामा २ अर्ब १४ करोड, २५ लाख ५४ हजार र वैशाख महिनामा १ अर्ब ८४ करोड, २८ लाख २१ हजार राजस्व सङ्कलन भएको छ । किनमेलनका लागि सीमापारि जाने प्रवृत्ति बदल्ने उद्देश्यले नाकामा कडाइ गर्दा राजस्व वृद्धि हुनुका साथै नेपागञ्जको व्यापार व्यवसाय पनि फस्टाउँदै गएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दश महिनाकाे अवधिमा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । चालु आव २०८२/०८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकोमा वैशाख मसान्तसम्म दश महिनामा मात्र १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८ दशमलव दुई प्रतिशत असुली भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीका अनुसार सीमा नाकामा कडाइपछि धेरै उपभोक्ता सीमापारि जान छाडेकोले नेपाली स्थानीय बजार चलायमान हुन थालेको बताइएकाे छ ।