नेपाल आयल निगमले गुणस्तरहीन इन्धन आपूर्ति गरेको पुष्टि भएपछि नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । निगमले गुणस्तरहीन इन्धन दिएकाले प्राधिकरणलाई क्षतिपूर्ति तिर्नुपर्ने भएको हाे ।
नेपाल विद्युत् प्राधिकरणले सुनसरीको दुहवीस्थित डिजेल जेनेरेटर प्लान्टका लागि नेपाल आयल निगमबाट फर्नेस आयल खरिदको सम्झौता गरेको थियो । उक्त इन्धनमा बढीमा एक प्रतिशतसम्म पानीको मात्रा हुनुपर्नेमा २६ प्रतिशतसम्म पानी भेटिएको भन्दै प्राधिकरण निगम विरुद्ध अदालतमा मुद्दा दर्ता गरेकाे थियो ।
करिब ११ वर्ष पुरानो घटनामा सर्वोच्च अदालतले गुणस्तरहीन इन्धन उपलब्ध गराएकोमा नेपाल आयल निगमलाई दोषी ठहर गरेको थियाे । गुणस्तरहीन तेल उपलब्ध गराएपछि नियमले नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड २१ लाख रुपैयाँ तिर्नुपर्ने फैसला भएको छ ।
आयल निगमले उपलब्ध गराएको फर्नेस आयलमा अत्यधिक पानीको मात्रा भेटिएपछि नेपाल विद्युत् प्राधिकरण कानुनी उपचारमा गयो । प्राधिकरणले गुणस्तरहीन इन्धनका कारण आफ्ना उपकरणमा क्षति पुगेको र विद्युत् उत्पादनमा नोक्सानी भएको भनी जिल्ला अदालत काठमाडौंमा क्षतिपूर्तिको मागदाबी सहित मुद्दा हालेकाे हाे ।