Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, साउन २१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

संकटअघि नेतृत्व कि संकटपछि प्रतिक्रिया?

- शुभ बिहानी / बिहिबार, साउन २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

 

सरोज न्यौपाने

अघि बढ्दै गरेको संकटलाई समयमै रोक्न सक्नु नै नेतृत्वको सबैभन्दा ठूलो परीक्षा हो। चुनावले कसलाई सत्ता सुम्पिने भन्ने निर्णय गर्न सक्छ, तर संकटले कसले नेतृत्व गर्न सक्छ भन्ने निर्णय आफैँ गर्छ।

देवानगञ्जको घटना केवल एउटा स्थानीय झडपको कथा होइन। यो समयमै सुनिन नसकेको चेतावनी, समयमै हुन नसकेको निर्णय र समयमै देखिन नसकेको नेतृत्वको कथा हो।

मुख्य प्रश्न गोली किन चल्यो भन्ने मात्र होइन। अझ गम्भीर प्रश्न त यो हो—गोली चल्नुपर्ने अवस्था नै किन बन्यो? एउटा स्थानीय विवाद विस्तारै धार्मिक तनावमा किन रूपान्तरित भयो? त्यसले दुई जिल्लासम्म असर पार्ने अवस्था किन सिर्जना भयो? र सबैभन्दा महत्वपूर्ण प्रश्न, जोखिमका संकेत देखिँदै गर्दा सक्रिय हुनुपर्ने राज्य पाँच दिनपछि मात्रै किन देखियो?

संकट कहिल्यै एकै रातमा जन्मिँदैन। प्रत्येक ठूलो दुर्घटनाअघि साना संकेतहरू देखा पर्छन्। प्रत्येक विस्फोटअघि एउटा झिल्को हुन्छ। प्रत्येक हिंसाअघि असन्तुष्टि र असहमतिका संकेतहरू देखिन्छन्।

नेतृत्वको वास्तविक परीक्षा त्यहीँबाट शुरु हुन्छ। नेतृत्व भनेको आगो लागेपछि दमकल लिएर पुग्नु मात्र होइन, धुवाँ देखिनेबित्तिकै सम्भावित आगोको जोखिम बुझ्नु पनि हो। संकट व्यवस्थापन भनेको गोली चलेपछि कर्फ्यु लगाउनु मात्र होइन, गोली चल्ने अवस्था नै आउन नदिनु हो।

देवानगञ्जमा धार्मिक झण्डासम्बन्धी विवाद कुनै अचानक देखिएको विषय थिएन। स्थानीय तहदेखि सुरक्षा निकायसम्म यसबारे जानकारी पुगेको सार्वजनिक रूपमा बताइएको थियो।

जनप्रतिनिधिहरूले पनि विषयलाई उठाएका थिए। अर्थात् समस्या राज्यको दृष्टिबाट बाहिर थिएन। तर, जानकारी हुनु र त्यसअनुसार समयमै प्रभावकारी निर्णय लिनु फरक कुरा हो। यहीँबाट दूरदर्शी (प्रोएक्टिभ) र प्रतिक्रियामूलक (रियाक्टिभ) नेतृत्वबीचको अन्तर स्पष्ट हुन्छ।

दूरदर्शी नेतृत्वले जोखिम पहिचान गर्छ, त्यसको मूल्याङ्कन गर्छ, सम्बन्धित पक्षलाई संवादमा ल्याउँछ र सानो विवादलाई ठूलो संकटमा रूपान्तरण हुन दिँदैन। प्रतिक्रियामूलक नेतृत्व भने संकट भइसकेपछि मात्रै सक्रिय हुन्छ।

जब आगो फैलिसकेको हुन्छ, सडकमा तनाव चुलिइसकेको हुन्छ, नागरिकले ज्यान गुमाइसकेका हुन्छन्, त्यसपछि बैठक बस्छ, छानबिन समिति बन्छ, सरुवा हुन्छ र राहत घोषणा गरिन्छ।

ती सबै आवश्यक हुन सक्छन्, तर एउटा प्रश्न फेरि पनि बाँकी रहन्छ—जोखिम पहिल्यै देखिएको थियो भने पहिलो कदम किन चालिएन?

त्यस रात विवाद चर्कियो। प्रहरी परिचालन भयो। अवस्था नियन्त्रणभन्दा बाहिर गयो। गोली चल्यो। दुई युवकले ज्यान गुमाए, धेरै घाइते भए। त्यसपछि एउटा स्थानीय घटना राष्ट्रिय बहसको विषय बन्यो।

तनाव सुनसरीको सीमाभन्दा बाहिर फैलियो। प्रदर्शन, आगजनी, तोडफोड र सडक अवरोधका घटनाहरू भए। त्यसपछि मात्रै राज्य ठूलो संकटको भाषामा बोल्न थाल्यो। तर त्यतिबेलासम्म परिस्थिति धेरै बदलिइसकेको थियो।

यही क्षण नेतृत्वको सबैभन्दा कठिन परीक्षा सुरु हुन्छ। संकटको पहिलो घण्टा, पहिलो दिन र त्यसपछिका केही दिनमा नेतृत्वको उपस्थितिले नागरिकको मनोविज्ञानमा गहिरो प्रभाव पार्छ।

कटका बेला नागरिकले केवल आदेश खोज्दैन, उसले राज्य आफ्नो साथमा छ भन्ने अनुभूति खोज्छ। उसले भरोसा खोज्छ। त्यसैले संकटमा समय पनि एउटा निर्णय हो। ढिलो प्रतिक्रिया पनि एउटा प्रतिक्रिया नै हो। र त्यो ढिलाइले एउटा प्रश्नलाई मेटाउन सक्दैन—जोखिमका संकेत पहिल्यै थिए भने समयमै पहल किन भएन?

संकटहरू बाहिरबाट हेर्दा विस्फोटजस्ता देखिन्छन्, तर वास्तवमा ती डोमिनो प्रभावजस्ता हुन्छन्। पहिलो टुक्रा ढल्छ, कसैले रोक्दैन। त्यसपछि दोस्रो, तेस्रो हुँदै अन्ततः सम्पूर्ण श्रृङ्खला ढल्छ। अन्त्यमा हामी भन्छौँ—सबै अचानक भयो।

तर,यदि विवाद लामो समयदेखि बढिरहेको थियो, यदि सम्भावित जोखिमबारे जानकारी थियो भने त्यसलाई अचानक भन्न मिल्छ र? कि त्यो निर्णय प्रक्रियाको कमजोरी थियो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो?

यही कारणले नेतृत्वको मूल्याङ्कन भाषणबाट होइन, निर्णयबाट हुन्छ। अझ स्पष्ट रूपमा भन्नुपर्दा, समयमै गरिएको निर्णयबाट हुन्छ। संकटपछि गरिएका घोषणा आवश्यक हुन सक्छन्, तर पर्याप्त हुँदैनन्।

नकि संकटपछि गरिएको निर्णयले गुमेको ज्यान फर्काउन सक्दैन। जलिसकेको घर बचाउन सक्दैन। र एकपटक टुटेको विश्वास तुरुन्त पुनःस्थापित गर्न सक्दैन।

घटनापछि राज्य सक्रिय भयो। प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरे। गृहमन्त्री घटनास्थल पुगे। प्रशासनिक हेरफेर भए। विभिन्न तहमा संवाद र सहमतिका प्रयास भए। विस्तारै अवस्था सामान्यतर्फ फर्किन थाल्यो।

तर, एउटा प्रश्न अझै बाँकी छ—राज्य संकट रोक्न आएको थियो कि संकटपछि प्रतिक्रिया दिन?

किनकि संकटमा सबैभन्दा सजिलो काम कर्फ्यु लगाउनु, सुरक्षा फौज परिचालन गर्नु, पत्रकार सम्मेलन गर्नु वा राहत घोषणा गर्नु हो।

तर, सबैभन्दा कठिन काम नागरिकबीचको विश्वास पुनःस्थापित गर्नु हो। गोलीको घाउ निको हुन सक्छ। भवन फेरि बन्न सक्छ।

पसल फेरि खुल्न सक्छ। तर, दुई समुदायबीचको अविश्वास वर्षौँसम्म बाँकी रहन सक्छ। त्यसैले देवानगञ्जको सबैभन्दा ठूलो क्षति केवल भौतिक थिएन, सामाजिक विश्वासमा परेको चोट पनि थियो।

राज्यको भूमिका केवल कानून कार्यान्वयन गर्नु मात्र होइन, प्रत्येक नागरिकलाई समान रूपमा सुरक्षित महसुस गराउनु पनि हो। संकटमा परेका सबै समुदायले आफूलाई राज्यले सुनेको, निष्पक्ष व्यवहार गरेको र न्यायको प्रत्याभूति दिएको अनुभूति गर्नुपर्छ।

कुनै समुदायले आफूलाई राज्यबाट टाढिएको महसुस गर्न थालेपछि समस्या केवल सुरक्षा चुनौती रहँदैन, त्यो लोकतान्त्रिक विश्वासको संकट बन्छ।

नागरिकले राज्यमाथिको भरोसा गुमाउन थालेपछि अफवाहले ठाउँ लिन्छ, भीडको मनोविज्ञान बलियो बन्छ र कानूनी शासन कमजोर हुँदै जान्छ। त्यसैले संकट व्यवस्थापन केवल सुरक्षा नीतिको विषय होइन, सामाजिक विश्वासको संरक्षणको विषय पनि हो।

हामी प्रायः व्यवस्थापन र नेतृत्वलाई एउटै ठान्छौँ। तर, यी दुई फरक कुरा हुन्। व्यवस्थापनले घटना भएपछि प्रक्रिया सुरु गर्छ। नेतृत्वले घटना हुनुअघि दिशा बदल्ने प्रयास गर्छ। व्यवस्थापनले प्रतिवेदन तयार गर्छ।

नेतृत्वले विश्वास निर्माण गर्छ। व्यवस्थापनले क्षतिको हिसाब राख्छ। नेतृत्वले क्षति हुन नदिने प्रयास गर्छ। यही अन्तरले एउटा प्रशासक र एउटा दूरदर्शी नेताबीचको वास्तविक भिन्नता देखाउँछ।

यदि स्थानीय विवाद समयमै संवादबाट समाधान भएको भए, यदि सम्बन्धित पक्षबीच निरन्तर समन्वय भएको भए, यदि सम्भावित जोखिमलाई गम्भीरतापूर्वक मूल्याङ्कन गरिएको भए र यदि सुरक्षाको तयारी परिस्थितिअनुसार मिलाइएको भए, घटनाको स्वरूप फरक हुन सक्थ्यो भन्ने सम्भावनाबारे सोच्न सकिन्छ।

इतिहासलाई फर्काउन सकिँदैन, तर त्यसबाट सिक्न सकिन्छ। र यही सिकाइ भविष्यको नेतृत्वको आधार बन्नुपर्छ। नेपालको सबैभन्दा ठूलो शक्ति यसको विविधता हो। फरक भाषा, संस्कृति, धर्म र समुदायका मानिसहरू एउटै समाजमा सहअस्तित्वका साथ बाँचेका छन्।

यही सहअस्तित्वमाथि प्रश्न उठ्नेबित्तिकै राज्य सबैभन्दा पहिले उपस्थित हुनुपर्छ। किनकि विविधतामाथिको विश्वास कमजोर भयो भने केवल एउटा गाउँ अस्थिर हुँदैन, राष्ट्रको सामाजिक आधार नै कमजोर हुन थाल्छ।

अन्ततः देवानगञ्ज केवल एउटा गाउँको कथा होइन। यो एउटा ऐना हो, जसले राज्य, नेतृत्व र निर्णय प्रक्रियालाई आफ्नै अनुहार हेर्न बाध्य बनाएको छ।

यसले एउटा असहज तर आवश्यक प्रश्न सोधेको छ—राज्य कहिले जाग्छ? पहिलो चेतावनी आउँदा कि पहिलो गोली चलिसकेपछि?

नेतृत्वको इतिहास भाषणले होइन, निर्णयले लेखिन्छ। र नेतृत्वका सबैभन्दा महत्वपूर्ण निर्णयहरू संकटपछि होइन, संकटअघि गरिएका निर्णयहरू हुन्छन्।

यदि देवानगञ्जको घटनाले समयमै सुन्ने, समयमै संवाद गर्ने र समयमै निर्णय गर्ने संस्कृतिलाई बलियो बनायो भने यसको पीडाबाट एउटा मूल्यवान् पाठ जन्मिनेछ।

तर, यदि त्यो पाठ पनि सिकिएन भने अर्को देवानगञ्ज कहाँ र कहिले दोहोरिन्छ भन्ने प्रश्न खुलै रहनेछ। किनकि महान् नेतृत्व आगो निभाएर मात्र प्रमाणित हुँदैन, आगो सल्किन नदिएर प्रमाणित हुन्छ।

Page Views: 12
संबन्धित शिर्षकहरु
‘एक्सक्युज दियौँ, अवसर खोसियो’
नेपाली कांग्रेस : नेतृत्वको दूरदर्शिता र देउवाको हठबीच अल्झिएको इतिहास
आजको सुर्योदय पछि हुनसक्छ नेपाली काँग्रेसले पुनः इतिहासको गाथालाई स्मरण गर्नेछ
ताजा अपडेट
  • परिवर्तन, पारदर्शिता र पर्यटनको भविष्य एजेन्डासहित नाट्टा अध्यक्षमा प्रदीप आचार्यको उम्मेदवारी घोषणा
  • नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ६२ करोड
  • कांग्रेसको आधिकारिकता विवाद: सर्वोच्च अदालतद्वारा पुनरावलोकनको अनुमति
  • संसद्मा प्रश्नको जवाफ नदिने अभिव्यक्तिको आलोचना भएपछि गृहमन्त्री गुरुङले मागे माफी
  • संकटअघि नेतृत्व कि संकटपछि प्रतिक्रिया?
  • साउनदेखि लागू भयो सरकारी कर्मचारी र सुरक्षा निकायको नयाँ तलबमान
  • संसद्मा गृहमन्त्रीले प्रश्नको जवाफ दिन अस्वीकार गर्दा उठ्यो संसदीय जवाफदेहितामाथि बहस
  • ग्वार्कोमा बस दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama