सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खसेर विभिन्न संरचनामा क्षति पुगेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३, तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका विभिन्न संरचनामा क्षति पुगेको हाे ।
सशस्त्र प्रहरी बलका अनुसार शुक्रबार बिहान १:१५ बजे बीओपी तातोपानीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको हो । पहिरोसँगै झरेका ढुंगाहरू एकआपसमा ठोक्किएर उछिट्टिँदा बीओपी परिसरका भवन तथा अन्य संरचनामा क्षति पुगेको बताइएकाे छ ।
उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको सशस्त्र प्रहरीले जनाएको छ । पहिरोले पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको र जस्ताको छानोमा छवटा प्वाल परेको र एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको र अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ ।
पहिराेले सशस्त्र प्रहरी निरीक्षकको बाथरुमको भित्तामा प्वाल परेको, हिमाली ज्याकेटमा ढुंगाले लागेर प्वाल परेको, राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको, जिन्सी स्टोर भवनमा तीनवटा प्वाल परेको तथा मुख्य गेटअगाडिको सिँढीमा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।