इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा सहायककाे रुपमा काम गर्ने १४ सय बढि कामदारकाे माग गरेकाे छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै १ हजार ४६४ जना कामदार माग गरेकाे जनाएकाे हाे ।
विभागकाे सूचनाअनुसार गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि १ हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १ हजार ४६४ जना कामदार माग गरेको जानकारी गराइएकाे छ ।
उक्त वैदेशिक राेजगारीका लागि इच्छुकले आवेदन दिन सक्ने छन् भने त्यसका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने बताइएकाे छ । जसका लागि आज राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सकिने छ ।
आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट अन्तर्गत पनि दिन सकिनेछ भने छनोट भएका कामदारले मासिक ६ हजार ४४३ इजरायली मुद्रा तलब पाउनेछन् । इजरायली सरकारको नियमानुसार ओभरटाइम सुविधासमेत उपलब्ध हुने सूचनामा उल्लेख छ ।
कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्ने र हप्तामा एक दिन बिदा पाउनेछन् । वार्षिक बिदा भने इजरायली सरकारको कानुनअनुसार हुने बताइएको छ ।